जनकपुरधाम-
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा कानुन बमोजिम मुख्यमन्त्री नियुक्त भएको बताएका छन्।
आज मुख्यमन्त्री पदको शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै यादवले विगतका मुख्यमन्त्रीहरूले विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न राजनीतिक अन्योलता हटाउन र संवैधानिक निकास सुनिश्चित गर्न आफू नियुक्त भएको बताए।
मुख्यमन्त्री यादवले प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दलको सदस्य भएको र सबैभन्दा बढी सांसद भएको आधारमा संवैधानिक सङ्कट समाधान गर्न नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आफू नियुक्त भएको बताए।
यादवले भने, “मुख्यमन्त्री नियुक्त भएपछि टायर बाल्ने, विध्वंश र तोडफोड गरेर विरोध गर्नुको सट्टा सबै राजनीतिक दलहरूले कानुनी प्रक्रियामा आउनुपर्ने छ।”
तर आज विरोध स्वरूप विपक्षी दल र तिनका कार्यकर्ताहरूले मधेस प्रदेश भवनभित्र तोडफोड तथा टायर बालेर प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनका कारण मन्त्रालयहरूको अवस्था अस्तव्यस्त बनेको छ र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध चर्को नाराबाजी समेत भएको छ।















