वीरगन्ज-
वीरगन्ज नाकालाई प्रयोग गरी भारततर्फ जाने भारतीय नागरिकलाई नेपाली सुरक्षाकर्मीहरूले सिमाक्षेत्रमा रोकेका छन्। बिहार विधानसभाको आज बिहानैदेखि जारी दोस्रो चरणको मतदानमा सहभागी हुन नेपालबाट भारततर्फ जाँदै गरेका भारतीय मतदाताहरूलाई वीरगन्जको भन्सार क्षेत्रमै सुरक्षाकर्मीहरूले रोकेका हुन्।
नेपालमा बसोबास गर्दै काम गर्दै आएका भारतीय मतदाताहरूले आज मतदान गर्न भारत फर्कँदै गर्दा सिमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले जान नदिएको गुनासो गरेका छन्। उनीहरूको भनाइअनुसार बिहान ६ बजेदेखि नै उनीहरू सिमाक्षेत्रमै रोकिएका थिए।
यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालसँग बुझ्दा, भारतीय सीमा सुरक्षा बल (S.S.B) को आग्रहअनुसार नेपालबाट भारततर्फ जानेलाई रोक लगाइएको भए पनि दिउँसो १२ बजेपछि भारतीय नागरिकहरूलाई भारततर्फ जान अनुमति दिइएको जानकारी दिनुभयो।
दहालका अनुसार बिहानै एसएसबीले सिमाक्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक्न आग्रह गरेको थियो। सिमाक्षेत्रमा भारतीय नागरिकहरूको संख्या बढ्दै गएपछि नेपाल–भारत पक्षबीच समन्वय गरी दिउँसो १२ बजेपछि मतदाता परिचयपत्र हेरी मात्रै भारततर्फ जान अनुमति दिइएको हो।
नेपाल र भारत पक्षबीचको सहमतिअनुसार सिमाक्षेत्र कहिले बन्द र कहिले खुला गरिने प्रचलन रहेको छ। दुवै पक्षबीचको सहमतिपछि मात्र व्यक्तिहरूको आवतजावत सुनिश्चित गरिने भएकाले एसएसबीको अनुरोधपछि वीरगन्ज नाकाबाट भारतीय नागरिकहरूलाई पठाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिनुभयो।
पूर्वी नेपालसँग सीमा जोडिएका बिहारका २० सिमावर्ती जिल्लाका १२२ विधानसभाका लागि आज बिहानदेखि मतदान भइरहेको छ। भारतीय निर्वाचन आयोगका अनुसार यस चरणमा करिब ३ करोड ७० लाख मतदाताले मतदान गर्नेछन्।














