मेलबर्न/चितवन-
अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित स्टोनली नामक ग्रामीण क्षेत्रमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ।
मृतकहरूमा ४१ वर्षीय पुरुष, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन्। उनीहरू सवार कारलाई एक मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाको मृत्यु भएको भिक्टोरिया प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा ती दम्पतीकी आमा (हजुरआमा) गम्भीर रूपमा घाइते भएकी छन्। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार अहिले उनको अवस्था स्थिर र ज्यान संकटमुक्त रहेको छ।
दुर्घटना सब–वेबाट मुख्य सडकमा निस्कँदै गर्दा मालबाहक ट्रकले ती नेपाली परिवार सवार कारलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रक चालक भने सामान्य रूपमा घाइते भएका छन्।
परिवारका अन्य सदस्यहरू अर्को सवारीमा केही दूरी पछाडि थिए र घटनाबारे पछि मात्र जानकारी पाएका थिए।
भिक्टोरियाका वाणिज्यदूत नीराजन गौलीले यो दुर्घटनालाई “अत्यन्त पीडादायक र दुःखद घटना” भन्दै तीन नेपालीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले तीन जनाको घटनास्थलमै मृत्यु भएको र घाइते महिलाको उपचार भैरहेको पुष्टि गरे।
त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाका संयोजक महादेव धानुकले घाइतेको उपचार र मृतकका परिवारलाई सहयोगका लागि संघ सक्रिय रहेको बताएका छन्।
भिक्टोरिया प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको र आवश्यक विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।















