जनकपुर-
नेकपा (माओवादी केन्द्र) ले आफ्ना दुई प्रदेशसभा सदस्यमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा संगठनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ।
पार्टीले मधेश प्रदेशसभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णलाई कारबाही गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका मधेश प्रदेश नेता भरत साहले जानकारी दिएका छन्।
उनका अनुसार तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले लिएको विश्वासको मतका क्रममा पार्टीले जारी गरेको ह्विप विपरीत मतदान नगरेको कारण उनीहरूविरुद्ध कारबाहीको निर्णय गरिएको हो।
विश्वासको मतका दिन बोलाइएको प्रदेशसभा बैठकमा दुवै सांसदले पार्टीको निर्देशन विपरीत उभिएर विश्वासको मत नदिने घोषणा गरेका थिए। यही कारण पाँचदलीय गठबन्धनको समर्थनमा बनेको जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो।
नेता साहका अनुसार, “पार्टीको निर्णय विपरीत कार्य गरी प्रदेशसभामा अनुशासन भङ्ग गरेको पाइएकोले दुवै सांसदमाथि संगठनात्मक कारबाही अघि बढाइएको हो। केन्द्रीय समितिले उनीहरूलाई साधारण सदस्यताबाट समेत निष्कासन गर्ने निर्णय गरिसकेको छ।”















