धनुषा –
धनुषामा एक प्रहरी जवानले जनप्रतिनिधिमाथि गोली प्रहार गर्दा वडाध्यक्षको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार राति मिथिला बिहारी नगरपालिका–९ मा भएको श्राद्ध भोजका क्रममा उत्पन्न विवादले हिंसात्मक रुप लिएपछि प्रहरी जवान शम्भु यादवले वडाध्यक्ष विन्देश्वर यादवमाथि गोली चलाएको जिल्ला प्रहरीले पुष्टि गरेको छ।
स्थानीयका अनुसार श्राद्ध भोजमा दुई समूहबीच विवाद भएपछि वडाध्यक्ष यादवले स्थिति नियन्त्रणमा लिन मध्यस्तता गरिरहेका थिए। त्यही क्रममा प्रहरी जवान शम्भु यादवले गोली हानेर यादवको हत्या गरेको घाइते एवं स्थानीय मकेश्वर यादवले बताएको दाबी छ।
घटनामा गोली, लाठी र खुकुरीसहित करिब पाँच जनाको समूह संलग्न रहेको घाइतेहरूले भनेका छन्। झगडाको सुरुआत भोजमा सहभागी स्थानीय धर्मनाथ यादव र एक व्यक्तिबीच लागेको विवादबाट भएको बताइन्छ।
घटनापछि वडाध्यक्षसहित घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो। चिकित्सकहरूले वडाध्यक्ष यादवलाई उपचारपूर्व नै मृत घोषणा गरेका थिए।
धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले घटनामा वडाध्यक्षको मृत्यु भएको र कम्तीमा दुईजनाको अवस्था गम्भीर रहेको पुष्टि गरेका छन्।
उता, प्रहरी जवान शम्भु यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालय धनुषाले जनाएको छ।
विन्देश्वर यादव स्वतन्त्र उम्मेदवारका रूपमा मिथिला बिहारी नगरपालिकाको वडा नं.–९ का वडाध्यक्ष निर्वाचित भएका थिए।
घटनापछि क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ भने स्थानीयहरूले निष्पक्ष छानबिन तथा कठोर कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ।














