२०८२ कार्तिक २९ गते, शनिबार १४:१९

मधेसमा आन्दोलन भड्काउन भारतको भूमिका रहेको मुख्यमन्त्री यादवको आरोप

जनकपुरधाम-
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा भइरहेको राजनीतिक अस्थिरता र आन्दोलनमा भारतको प्रत्यक्ष हस्तक्षेप रहेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा मधेसवासीलाई सम्बोधन गर्ने क्रममा उनले वीरगन्जस्थित भारतीय काउन्सिलर कार्यालयका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन उकास्ने प्रयास भइरहेको दाबी गरे।

मुख्यमन्त्री यादवले दलभित्र फुटाउन, मिलाउन तथा नेताहरूलाई धम्की दिने गतिविधि विदेशी प्रभावमा भइरहेको बताएका छन्। उनले भने,
“वीरगन्जको काउन्सिलर अफिसका प्रतिनिधिहरू दलका नेताहरूसँग प्रत्यक्ष सम्वादमा छन्। ‘दल फुटाउँछु’, ‘जुटाइदिन्छु’ जस्ता धम्की दिइएको तथ्य हामीसँग छ, जसले बारम्बार सहमति र असहमतिको वातावरण सिर्जना गरिरहेको छ।”

यादवले आफूलाई पनि सुरक्षा चुनौती रहेको भन्दै आन्दोलनकारीहरूबाट प्रत्यक्ष खतरा महसुस भएको बताए। सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएपछि आफूलाई सुरक्षा जोखिम औपचारिक रूपमा सूचित गरिएको उनले बताएका छन्।

सरकार संवैधानिक प्रक्रिया र जनमतअनुसार बनेको भन्दै उनले आन्दोलनकारी पक्षलाई संवाद र शान्तिपूर्ण समाधानका लागि अगाडि आउन आग्रह गरे। विदेशी हस्तक्षेपका कारण प्रदेशमा वार्ताको वातावरण कमजोर भएको दाबी गर्दै उनले भने,
“हामी वार्तामा बस्न तयार छौँ, तर बाह्य चापका कारण वार्ताको थालनी नै बाधित भएको छ।”

मुख्यमन्त्री यादवको आरोपसँग सम्बन्धित भारतीय पक्षले भने कुनै प्रतिक्रिया नदिएको बुझिएको छ। मधेस प्रदेशको पछिल्लो राजनीतिक संकटसँगै आज गरेको अभिव्यक्तिले राष्ट्रिय राजनीतिको संवेदनशीलता थप बढाएको छ।

पोडकास्ट सुन्नुहोस