वीरगन्ज –
पर्सा वीरगन्जका सक्रिय युवा समूहले मधेश प्रदेशको राजनीतिक घटनाक्रमप्रति कडा आपत्ति जनाउँदै प्रदेशसभा सदस्य वीरन्द्र सिंह विरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन्।
युवा समूहले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएको ज्ञापनपत्रमा, जनताको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले मर्यादा, सभ्यता र लोकतान्त्रिक आचरणको सीमालाई उल्लंघन गर्दै प्रस्तुत भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
समूहका अनुसार, संवेदनशील राजनीतिक परिस्थिति हुने बेला जनप्रतिनिधिहरूले संयम, शिष्टाचार र जिम्मेवार भूमिकामार्फत समाधानमुखी वातावरण निर्माण गर्नु पर्ने भए पनि उल्टो दिशामा गतिविधि देखिनु चिन्ताजनक रहेको छ।
विशेष गरी, कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जीतेन्द्र सोनलले विश्वासको मत अघि नै राजीनामा दिएपछि, २३ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। यही प्रक्रियापछि उत्पन्न विवादमा, नेपाली कांग्रेसका सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरन्द्र सिंहले मुख्यमन्त्री कार्यालयमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने घटना गरेको आरोपमा युवा समूहले आपत्ति जनाएको छ।
समूहले यस्तो कार्यले संविधानको धज्जी उडाउनु भएको भन्दै सम्बन्धित व्यक्तिमाथि गृहमन्त्रालयमार्फत कानुनी कारबाही गर्न माग गरेको छ। साथै, मधेश प्रदेश सरकारको कार्यालयमा भएको तोडफोडमा संलग्न जो–कोही भए पनि वस्तुगतरूपमा छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्ने समूहको माग छ।
समाजिक अभियन्ता अकलेह कुमार साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको युवा समूहले, यदि असंवैधानिक र अराजक कृत्यमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिए शान्तिपूर्ण प्रदर्शनदेखि चरमबद्ध आन्दोलनसम्म जान बाध्य हुने चेतावनी पनि दिएको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाजिक अभियन्ता सन्दिप बस्नेत, सोनु पटेल, संजय यादव, राजु कुमार र पकहाँमैनपुर गाउँपालिकाका जेनजी समूह अध्यक्ष भगवान कुर्मी लगायत युवा समाजसेवी सुमीत पटेलको उपस्थिति रहेको थियो।
प्रमुख जिल्ला अधिकारी दाहालले पत्रलाई प्रक्रियागत तरिकाले अघि बढाउने आश्वासन दिएका छन्।





































