२०८२ मंसिर ३ गते, बुधबार ०४:१७

मदिना जाँदै गरेको बस दुर्घटनामा भारतीय नागरिकको सामूहिक मृत्यु

काठमाडौं –

साउदी अरबमा मक्काबाट मदिना जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी २० महिला र ११ बालबालिकासहित अन्य धेरैजना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटना सोमबार राति भारतीय समयअनुसार १:३० बजे मदिनाबाट करिब १६० किलोमिटर दूरीमा पर्ने मुहरास नजिक भएको हो। तीर्थयात्रामा निस्किएका हैदराबादका नागरिकहरूलाई बोकेको बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि आगो लागेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको समयमा अधिकांश यात्रुहरू बसभित्र सुतिरहेका थिए। ठोक्किएपछि बसमा चाँडै आगो फैलिन पुगेको र धेरै यात्रु समयमै बाहिर निस्कन नसक्दा मानवीय क्षति व्यापक भएको बताइएको छ।

तेलंगाना सरकार रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। घटनापछि जारी विज्ञप्तिमा तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै मृतक पहिचान, उद्धार तथा आवश्यक औपचारिकतामा सहयोग गर्न निर्देशन दिएका छन्।

दुर्घटनाका विस्तृत विवरण र पहिचान प्रक्रिया जारी रहेको बताइएको छ।

पोडकास्ट सुन्नुहोस