२०८२ मंसिर २ गते, मंगलवार १८:४०

वीरगन्ज नापी कार्यालयका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

वीरगन्ज-

वीरगन्जस्थित नापी कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्दै दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। आयोगको टंगाल, काठमाडौंबाट आएको विशेष टोलीले कार्यालयका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं लगिएको छ।

नापी कार्यालयका अधिकृत नागेन्द्र महतोका अनुसार, जग्गाको लगत हेरफेरका नाममा सेवा लिने व्यक्तिसँग घुस मागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। महतोले दुवै कर्मचारीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेकाे जानकारी दिए।

छापा मार्ने क्रममा अख्तियारको टोलीले कार्यालयमा रहेका केही कागजात तथा अभिलेखहरू समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

छानबिनका लागि अख्तियार टोली कार्यालय पुगेपछि नापी अधिकृत दीपक सिंहलाई पनि खोजिएको तर सिंह छापामारीको जानकारी पाएपछि सम्पर्कविहीन रहेको कर्मचारीहरूले बताएको स्रोतले जनाएको छ।

यससँगै वीरगन्जको आदर्शनगरस्थित स्काइ लाइन इनफ्रा प्रालिसम्बन्धी लगतमा भएको गडबडीका विषयमा समेत अख्तियारले कर्मचारीहरूबाट मौखिक सोधपुछ गरेको बताइएको छ।

पोडकास्ट सुन्नुहोस