काठमाडौँ –
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीचको एकता प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। यही क्रममा दुवै दलका शीर्ष नेता आज बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकलाई निर्णायक मानिएको छ।
बुधबार भएको वार्ताबारे जानकारी दिँदै नेकपा नेता प्रकाश ज्वालाले छलफल अत्यन्त सकारात्मक बनेको र दुवै पक्षले छिटो निष्कर्षमा पुग्ने सहमति गरेको बताएका छन्। उनका अनुसार वैचारिक आधार, संगठनात्मक संरचना, नेतृत्व मोडेल र भविष्यको चुनावी सहकार्यबारे विस्तृत छलफल भइरहेको छ।
बुधबारको बैठकमा नेकपातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल सहभागी थिए। जसपातर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी भएका थिए।
आजको वार्ताबाट सैद्धान्तिक र संगठनात्मक एकताको दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ। स्रोतका अनुसार छलफल सफल भए निकट भविष्यमै दुबै दल एकताबारे औपचारिक घोषणा गर्न तयार हुनेछन्।
राजनीतिक विश्लेषकहरूले नेकपा र जसपाबीचको सम्भावित एकतालाई आगामी सत्ता समीकरण, प्रदेश राजनीति र राष्ट्रिय नीतिमा ठूलो प्रभाव पार्ने घटनाको रूपमा हेरिरहेका छन















