२०८२ मंसिर ४ गते, बिहीबार १८:२३

दुर्गा प्रसाईँ समर्थित समूहले सरकारी वेबसाइट ह्याक गरेको दाबी, सरकार मौन

एआईको साहायताले बनाईएको तस्विर

काठमाडौं-

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ समर्थित ‘नेपालका लागि नेपाली’ नामक समूहले नेपालका विभिन्न सरकारी तथा सार्वजनिक संस्थाका वेबसाइटहरूमा साइबर हमला गरेको दाबी गरेका छन्।

समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग, मिर्मिरे लघुवित्त तथा इन्द्रावती क्याम्पसका सर्भरमा पहुँच भएको र आक्रमण गरिसकेको दाबी गर्दै सरकारविरुद्ध ‘साइबर युद्ध’ सुरु भएको घोषणा गरेको छ।

उनले जारी गरेको विज्ञप्तिमा दुर्गा प्रसाईँको गिरफ्तारीलाई ‘अलोकतान्त्रिक र राजनीतिक प्रेरित’ बताइएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारले दिएको समयसीमा नटेकेपछि अब हामी साइबर प्रतिकारमा उत्रिएका छौँ। अब अन्तरिम सरकार तथा त्यसका हरेक डिजिटल संरचनालाई लक्षित गर्दै व्यापक आक्रमण गरिनेछ।”

समूहले नेपालका सरकारी वेबसाइट, प्रणाली तथा डाटा सेन्टरहरूमा पहुँच रहेको दाबी गर्दै थप क्षति पुर्‍याउने चेतावनीसमेत दिएका छन्।

तर, समूहले दाबी गरेका वेबसाइटहरू— नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग, मिर्मिरे लघुवित्त र इन्द्रावती क्याम्पस— हाल भने सामान्य रूपमा सञ्चालनमा रहेका देखिन्छन्।

यस विषयमा नेपाल सरकार, साइबर सुरक्षा निकाय तथा सूचना प्रविधि विभागले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।

घटनापछि साइबर सुरक्षासँग सम्बन्धित नियामक निकायहरूले स्थिति निगरानी गरिरहेको बताइए पनि आधिकारिक धारणा आउन बाँकी छ।

पोडकास्ट सुन्नुहोस