काठमाडौं –
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिनुभएको छ ।
सोमवार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भएपनि विगतमा काम गर्नुभएका व्यक्तिहरुबाट सुझाव लिएर कामगर्नसके कठिन नहुने बताउनु भयो ।
निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न आग्रह गर्नुभयो । उहाँले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउनु हुँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरु शुरु हुने बताउनु भयो ।
सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।














