काठमाडौं –
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ ।
बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए ।
उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
कांग्रेसको १५ औँ महाधिवेशन २०८२ पुस २६,२७ र २८ गते हुने गरि प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा पेस गरिएको थियो र त्यो सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ ।
बैठकले मंसिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
कांग्रेसले महाधिवेशन तयारीलाई संगठन सुदृढिकरणसँग जोडेर आगामी दिनमा आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढाउने जनाएको छ ।
कांग्रेसको १५औं महाधिवेशन तालिका
-नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० सम्म
-नयाँ क्रियाशील सदस्यको फाराम पठाउने– मंसिर २४ सम्म
सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको काम सक्ने पुस ८ सम्म
-नयाँ र नवीकरण गरिएका सदस्यता अन्तिम सूची बुझाउने– पुस १४
-विदेशस्थित जनसम्पर्क समितको अधिवेशन– पुस १५
-गाउँ नगर र वडा अधिवेशन– पुस १६
-गाउँ नगरपालिका अधिवेशन पुस १७
-प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९
-प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१
-एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २२
-प्रदेश अधिवेशन २३ र २४ गते ।
-महाधिवेशन पुस २६, २७ र २८ गते ।














