२०८२ मंसिर १७ गते, बुधबार १८:१९

मदरस्सा शिक्षा बोर्डको पुनः सक्रियताविरुद्ध वीरगन्जमा विश्व हिन्दू परिषद् नेपालद्वारा प्रदर्शन

वीरगन्ज-

मधेश प्रदेश सरकारले विगतमा अस्तित्वमै रहेको विवादित मदरस्सा शिक्षा बोर्डलाई पुनः सक्रिय बनाउने प्रयास गरिरहेको भन्दै विश्व हिन्दू परिषद् नेपालले बुधबार पर्सा जिल्लाको वीरगन्जमा प्रदर्शन गरेको छ। माईस्थानबाट विभिन्न नारा अंकित प्लेकार्डसहित सुरु गरिएको विरोध जुलुस नगरपरिक्रमा गर्दै घण्टाघरतिर अघि बढेको थियो।

घण्टाघर क्षेत्र पुगेपछि प्रदर्शनकारीहरूले टायर जलाउँदै सरकार र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको निर्णयविरुद्ध कडा नाराबाजी गरेका थिए। “हिन्दु राष्ट्र कायम गर”, “सरोज यादव मुर्दाबाद”, “प्रदेशलाई खारेज गर” जस्ता नारासहित उनीहरूले मदरस्सा बोर्ड पुनः सक्रिय गर्ने सरकारी निर्णय प्रदेशको सामाजिक सद्भाव र सुरक्षा व्यवस्थामाथि खतरा हुने आरोप लगाएका थिए।

प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबीच दोहोरो विवाद समेत उत्पन्न भएको थियो, जसका कारण माहोल केही समय तनावग्रस्त बनेको थियो। तर स्थिति नियन्त्रणमा आएपछि कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

यसअघि विश्व हिन्दू परिषद् नेपालले एक विज्ञप्ति जारी गर्दै विवादित मदरस्सा शिक्षा बोर्डको पुनः सक्रियता प्रदेशको शान्ति–सुरक्षा, सामाजिक सन्तुलन र शासन व्यवस्थामाथि प्रतिकूल असर पर्ने चेतावनी दिएको थियो। परिषद्ले सरकारसँग उक्त निर्णयबारे स्पष्टता माग्दै आवश्यक छानबिन र सतर्कता अपनाउन आग्रह गरेको छ।

बुधबारको विरोध कार्यक्रम विश्व हिन्दू परिषद् नेपाल वीरगन्ज महानगर युवा प्रमुख सुरज कुशवाहा, सह–युवा प्रमुख छोटा राजन पटेल, र महानगर अध्यक्ष ज्योति रुंगटाको अगुवाइमा सम्पन्न भएको हो।

पोडकास्ट सुन्नुहोस