२०८२ मंसिर १८ गते, बिहीबार २१:१७

सात दलले भोलि मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने

काठमाडौँ –

सात दलको सहमतिमा भोलि (शुक्रबार) मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरिने भएको छ।

बिहीबार जनकपुरमा बसेको सात दलको बैठकले शुक्रबारभित्रै मुख्यमन्त्रीको नाम टुङ्गो लगाएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले जानकारी दिए।

मधेस प्रदेशको नयाँ सरकार गठनका विषयमा सात दलबीच जारी परामर्शलाई तीव्रता दिइएको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी थिए।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरूले बहुमत जुटाउन सक्रियता बढाएका छन्।

सात दलले एकीकृत रूपमा सरकार निर्माण प्रक्रिया अघि बढाउने र शुक्रबारसम्म मुख्यमन्त्रीका लागि सहमति कायम गर्ने तयारी गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

पोडकास्ट सुन्नुहोस