वीरगन्ज-
मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त कृष्णप्रसाद यादवले आइतबार बिहान शपथग्रहण गर्ने भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आइतबार बिहान आयोजना हुने विशेष कार्यक्रममा यादवलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।
स्रोतका अनुसार शपथग्रहणअघि बिहान ७ बजे सात दलीय गठबन्धनको बैठक बस्नेछ, जहाँ मन्त्रालयको बाँडफाँडबारे अन्तिम निर्णय गर्ने तयारी गरिएको छ। विभिन्न घटक दलहरूले दुई–दुई मन्त्रालयमा दाबी गर्न थालेपछि सहमति जुटाउन समय लाग्न सक्ने जनाइएको छ।
हालसम्म मन्त्रीहरूको नाम टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने सम्भावना देखिएको छ। यद्यपि, नवनियुक्त मुख्यमन्त्री यादवसँगै केही नेताहरूले विनाविभागीय मन्त्रीका रूपमा पनि शपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ।
मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका गरी ७७ जना प्रदेश सांसदको समर्थन रहेको छ।
यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।















