काठमान्डौं-
नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महाधिवेशनका केही प्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । पार्टी गम्भीर संकटको सामना गरिरहेको भन्दै उनीहरुले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सक्ने नेतृत्व चुनिनुपर्ने समेत धारणा राखे । पार्टी केन्द्रीय सदस्य समेत रहेकी महाधिवेशन प्रतिनिधि सूर्यकुमारी श्रेष्ठले एमाले विशाल पार्टी भएको कारण महाधिवेशनमार्फत नेतृत्व जाने नेताहरुको आकांक्षा स्वभाविक रहेको बताउनु भयो । उहाँले पार्टी चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा एकताका लागि सर्वसम्मत नेतृत्व उपयुक्त हुने बताउनु भयो ।
यद्यपि लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुनु पनि सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । महाधिवेशन प्रतिनिधि चक्रप्रसाद स्नेही रसाइलीले पार्टीमा व्यक्तिभन्दा विचारको नेतृत्व हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीमा विचारभन्दा व्यक्ति हाबी भए पार्टी र मुलुक समेत ठिक ठाउँमा पुग्न नसक्ने बताउनु भयो । उहाँले महाधिवेशनमा मत विभाजन हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताउनु भयो ।
पार्टीमा मतविभाजन नभए नेतृत्व निरङ्कुश हुनसक्ने उहाँको बुझाई छ । पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टी अहिले संकटको अवस्थामा रहेको भन्दै सामुहिक नेतृत्व प्रणाली आवश्यक भएको धारणा राख्नुभयो । उहाँले परिवर्तन र पुस्तान्तरणको माग उठिरहेको समयमा एकल नेतृत्व पर्याप्त नहुने उल्लेख गर्दै विचारको नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कम्युनिष्ट पार्टी व्यक्तिगत आधारमा चल्न नसक्ने उहाँको भनाइ छ । महाधिवेशन प्रतिनिधि विदुर चालिसेले कार्यकर्तामा देखिएको मतभेद रोक्न नेतृत्व स्वयं जिम्मेवार र परिपक्व हुनुपर्ने धारणा राख्नुभयो ।
नेतृत्वको वरिपरि मात्र घुम्ने प्रवृत्ति निस्तेज पार्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको उहाँको बुझाई छ । पोलिटब्युरो सदस्य विशाल भट्टराईले पार्टीको मार्गदर्शन विचारले गर्ने भएपनि नेतृत्वमा व्यवहारिक गुण र क्षमता पनि आवश्यक हुने बताउनु भयो । उहाँले विचार, सिद्धान्त र दृष्टिकोणबिनाको नेतृत्व दिशाहीन हुने तर्क गर्नुभयो । उहाँले पार्टीले विधान महाधिवेशनमार्फत नीति पारित गरिसकेको उल्लेख गर्दै सोअनुरुप अगाडि बढ्न सक्ने नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले महाधिवेशनले पार्टीको विधान महाधिवेशनले नीति, विधि र विधान पारित गरिसकेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद, माक्र्सवाद–लेनिनवादका सिद्धान्तअनुसार अघि बढ्ने नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो । कोशी प्रदेश सचिवालय सदस्य विनादेवी राईले एमालेजस्तो ठूलो पार्टीमा मत र मन र विभाजन हुनु स्वभाविक भएको बताउनु भयो ।
उहाँले सके सर्वसम्मत नभए लोकतान्त्रिक विधिमार्फत चुनिएको नेतृत्वले पार्टी र देशको हितमा सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको धारणा छ । नेकपा (एमाले)११ औं राष्ट्रिय महाधिवेशनको तयारी चरणमा छ । पार्टीको ११ औं राष्ट्रिय महाधिवेश यही मंसिर २७–२९ गते हुँदैछ ।














