वीरगन्ज-
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाँको आयोजनामा वीरगन्जस्थित माउन्ट एडमन्ट सेकन्डरी स्कुलको प्राङ्गणमा साइबर क्राइमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
ओम आश्रम श्रीपुरको प्राङ्गणमा आयोजित यस कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरिएको थियो। सामुदायिक सेवा केन्द्र छपकैयाँका अध्यक्ष ग्यासदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। स्कुल निर्देशक फजिल अहमदको विशेष उपस्थिति रहेको थियो।
अनलाइनमा सधैँ सावधानी अपनाउनुस्
कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक एकनाथ भट्टराईले साइबर सुरक्षाबारे महत्वपूर्ण जानकारी दिँदै विद्यार्थीहरूलाई अनलाइन प्रयोगमा अत्यन्तै सचेत रहन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “साइबर अपराध आजको डिजिटल युगमा तीव्र रूपमा बढिरहेको समस्या हो। सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङजस्ता गतिविधि रोकथामका लागि विद्यार्थी स्वयं सचेत हुनुपर्छ। कुनै पनि प्रकारको शंका लाग्दो गतिविधि देखिएमा तुरुन्तै अभिभावक वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनु नै सबैभन्दा बुद्धिमानी कदम हो।”
प्रहरी निरीक्षक भट्टराईले विद्यार्थीहरूलाई अनलाइनमा अपरिचितहरूसँग मित्रता गाँस्न, भिडियो कल गर्न, शंकास्पद लिङ्क क्लिक गर्न वा अनावश्यक सामग्री डाउनलोड गर्नबाट बच्नका लागि सावधानी अपनाउन जोड दिनुभयो। उहाँले थप्नुभयो, “व्यक्तिगत गोप्य जानकारी कसैसँग पनि साझा नगर्नु नै साइबर सुरक्षाको पहिलो सुरक्षा हो।”
कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर सुरक्षा, अनलाइन ठगी रोकथाम, डिजिटल फुटप्रिन्ट, सुरक्षित पासवर्डको महत्त्व र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगबारे विस्तृत जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको अन्त्यमा अतिथिहरूले विद्यार्थीहरूलाई जागरूक र सुरक्षित डिजिटल नागरिक बन्न आग्रह गरेका थिए।














