२०८२ मंसिर २४ गते, बुधबार १२:१८

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, कार्यव्यस्तताका कारण मिति सर्‍यो

जनकपुरधाम-

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २७ गते शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। यसअघि बुधबार (मंसिर २४ गते) विश्वासको मत लिने तयारी गरिए पनि मुख्यमन्त्रीको कार्यव्यस्तताका कारण मिति सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले सुरुमा मंसिर २४ गतेकै लागि मिति तय गरेको थियो। तर, अन्तिम समयमा आएर विशेष कारणवश तीन दिन पछि अर्थात् शुक्रबारका लागि समय निर्धारण गरिएको हो।

नेपाली कांग्रेसका प्रदेश सभा संसदीय दलका नेता यादव यही मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले मंसिर २१ गते मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। उनीसँगै जनमत पार्टीबाट अर्थमन्त्रीको रूपमा महेश यादव तथा नेपाली कांग्रेसबाट जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) बाट कनिष पटेलले बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए।

विश्वासको मत लिने प्रयोजनका लागि हाललाई सानो आकारको मन्त्रिमण्डल गठन गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। शुक्रबार विश्वासको मत प्राप्त गरेलगत्तै मन्त्रालयको बाँडफाँड टुङ्ग्याएर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी सरकारको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार विश्वासको मत लिएपछि मन्त्रालयको बाँडफाँड हुने र त्यसलगत्तै गठबन्धनमा रहेका अन्य दलहरू पनि सरकारमा सहभागी हुनेछन्। शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले आफूलाई प्रदेश सभाको बहुमत रहेको पुष्टि गर्नुपर्नेछ।

 

पोडकास्ट सुन्नुहोस