२०८२ मंसिर २४ गते, बुधबार १८:२३

डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक उत्सव सम्पन्न, उपकुलपतिले गरे प्रशंसा

वीरगन्ज-

डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलले संस्थापक शङ्करलाल केडियाको ९०औँ जन्म–जयन्तीको अवसर पारेर बुधबार आफ्नो ३२औँ वार्षिक दिवस समारोह ‘उल्लास’ भव्यताका साथ सम्पन्न गरेको छ।

साँस्कृतिक वातावरणमा सम्पन्न भएको समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहनुभएको थियो। स्कुलका प्रिन्सिपल राकेश मिश्राको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, अभिभावक, समाजसेवी तथा उद्योगी–व्यापारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उत्कृष्ट शिक्षा र संस्कारको प्रशंसा:

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. शाक्यले विद्यालयहरूले ज्ञानसँगै मानवीय मूल्य, अनुशासन र संस्कार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीको प्रतिभा उजागर गर्ने माध्यमका रूपमा यस्ता सांस्कृतिक कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। डा. शाक्यले डी.ए.भी. स्कुलले निरन्तर गुणस्तरीय शिक्षा र संस्कारयुक्त वातावरण प्रदान गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो र विद्यार्थीहरूको आकर्षक प्रस्तुतिप्रति खुसी व्यक्त गर्दै विद्यालय परिवारलाई बधाई ज्ञापन गर्नुभयो।

समारोहमा विशिष्ट अतिथिका रूपमा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, पूर्व अध्यक्ष गणेश लाठ, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, केडिया आँखा अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्मा लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो। उहाँहरू सबैले विद्यालयको शैक्षिक योगदान, अनुशासन र सामुदायिक सेवाको प्रशंसा गर्नुभएको थियो।

विद्यार्थीको मनमोहक प्रस्तुति:

समारोहमा विद्यार्थीहरूले गायन, नाटक, नृत्य, थिमेटिक सांस्कृतिक झाँकी र देशभक्तिपूर्ण प्रस्तुतिसहितका आकर्षक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुति, समन्वय र अनुशासनले दर्शक तथा अभिभावकको मन जितेको थियो।

कार्यक्रमको अन्त्यमा आयोजक विद्यालयले प्रमुख तथा विशिष्ट अतिथिहरूलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो। विद्यालय परिवारले दिवंगत शङ्करलाल केडियाको स्कुल स्थापना र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेको थियो।

पोडकास्ट सुन्नुहोस