काठमाडौं-
चीनस्थित ग्वाङझाउ सिभिल एभियसन कलेज (जीसीएसी) र ड्रोन हब नेपालद्वारा संयुक्त रूपमा आयोजित बहुप्रतिक्षित मानवरहित हजाइ सवारी साधन (युएभी) कार्यशाला हाइडअवे ग्ल्याम्पिङ सफलतापूर्वक सम्पन्न भएको छ ।
देशभरका विद्यार्थी, शिक्षक तथा ड्रोनप्रेमीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना गरिएको कार्यशालामा सयजना भन्दा धेरैको सहभागिता रहेको थियो ।
पहिलो प्राविधिक सत्रमा ड्रोन हब नेपालका सल्लाहकार मोतीराम इटानीले ड्रोनको आधारभूत संरचना, युएभी उडानका वैज्ञानिक सिद्धान्त तथा नेपालमा लागू नियमनबारे स्पष्ट प्रस्तुति दिए । सोही क्रममा एरोस्पेस इञ्जिनियर अफ्ताब आलम मन्सुर, सचिन कुमार सिंह तथा इन्स्पेक्टर रमेश साहले उडानका क्रममा हुने अवरोधबाट बच्ने उपाय, स्वायत्त उडान र सेन्सर एकिकरण जस्ता अत्याधुनिक र प्रविधि सैद्धान्तिक तथा व्यवहारिक रूपमा प्रस्तुत गरे ।
आलमले विश्वभर सञ्चालन भइरहेको युएभी अनुसन्धान तथा विद्यार्थीहरूले कसरी एभियसन–सम्बन्धी करियर निर्माण गर्न सक्छन् भन्नेबारेमा आफ्ना धारणा व्यक्त गरे । कार्यक्रममा उपस्थित विद्यार्थीहरूले आफैं निर्माण गरेको युएभी विमानको सफल उडानले उपस्थित सबैको ध्यान खिच्यो र युवा प्रतिभा तथा नवप्रवर्तनको प्रभावशाली उदाहरण प्रस्तुत गर्यो ।
जीसीएसीबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षकले उद्यम–स्तरका युएभी प्रणाली, अग्नि नियन्त्रण ड्रोन, कृषि छर्काव ड्रोन, म्यापिङ प्रविधि तथा भारी बोझ बोक्ने कार्गो ड्रोनसम्बन्धी विस्तृत जानकारी प्रदान गरे । उनीहरूले विश्वव्यापी युएभी प्रविधि र एभियसन इञ्जिनियरिङका करियर अवसरबारे सहभागीहरूलाई गहन दृष्टिकोण प्रदान गरे ।














