वीरगन्ज-
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पर्साले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पर्साका पार्टी अध्यक्ष सिहांसन साहको अध्यक्षता तथा पार्टीका सह–महासचिव प्रदीप यादवको विशेष उपस्थितिमा वीरगन्जस्थित पूजन होटलमा बसेको बैठकले पर्साका चारवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नाम पार्टीमा सिफारिस गरेको हो।
प्रत्यक्षतर्फ चारवटै क्षेत्रमा एकल सिफारिस
जसपा पर्साले चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ केवल एक–एक जनाको नाम सिफारिस गरेको छ। जसअनुसार, क्षेत्र नं. १ मा प्रदीप यादव, क्षेत्र नं. २ मा प्रेवबाबु पटेल, क्षेत्र नं. ३ मा जनार्दन प्रसाद यादव र क्षेत्र नं. ४ मा तवरेज अहमदको नाम सिफारिस गरिएको जनता समाजवादी पार्टी पर्साले जनाएको छ। प्रत्यक्षतर्फ सबै क्षेत्रमा एकल नाम सिफारिस भएका कारण, सिफारिसमा परेका यी नेताहरूले टिकट पाउने निश्चित भएको जसपा पर्साका नेताहरूले बताएका छन्।
समानुपातिकतर्फ सिफारिस भएका नामहरू
बैठकले समानुपातिकतर्फका उम्मेदवारहरूको नाम पनि सिफारिस गरेको छ।
-
क्षेत्र नं. १ मा नेकमहमद अन्सारी, नुर आलम अन्सारी, उमेशलाल साहनी, पवन पञ्जियार, कम्मु मानन्धर र रबैदा खातुन गरी ६ जनाको नाम सिफारिस भएको छ।
-
क्षेत्र नं. २ मा नागेन्द्र प्रसाद यादव, हरेन्द्र प्रसाद चौरसिया र बैजन्ती माला गरी ३ जनाको नाम सिफारिस गरिएको छ।
-
क्षेत्र नं. ३ मा सलमा खातुनको एकल नाम सिफारिस गरिएको छ।
-
क्षेत्र नं. ४ मा पनि रम्बा यादवको एकल नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको जसपा पर्साले जनाएको छ।
सिफारिस गरिएका यी नामहरू अब अन्तिम अनुमोदनका लागि केन्द्रीय समितिमा पठाइने भएको छ।














