जनकपुरधाम –
मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नियुक्त भएपछि पहिलो पटक शुक्रबार औपचारिक रुपमा सत्ता गठबन्धनको बैठक बसेको छ। जनकपुरधामस्थित मधेश भवनमा बसेको बैठकले आगामी छलफलका लागि एजेण्डाहरु तय गरेको छ।
पहिलो बैठकबाट एजेण्डा तय गर्दै गठबन्धनको बैठक (आज) शनिबार पुनः बस्ने निर्णय भएको छ। शुक्रबारको बैठकमा पूर्वमुख्यमन्त्री एवं सत्ता साझेदार दल जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव जिल्लाबाहिर रहेका कारण महत्वपूर्ण विषयमा निर्णय हुन सकेन। नेता यादवको अनुपस्थितिका कारण बैठकले एजेण्डा मात्र तय गरी शनिबार पुनः बस्ने गरी स्थगित भएको गठबन्धनका एक नेताले जानकारी दिए।
(आज) शनिबार बस्ने निर्णायक बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, दलहरुबीच मन्त्रालयको भागबण्डा र रिक्त रहेको सभामुख पदपूर्ति लगायतका विषयमा विस्तृत छलफल गर्ने निर्णय भएको जनाइएको छ।
सात दलीय गठबन्धनको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथ ग्रहण लगत्तै उनले नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेशप्रसाद यादव र एकीकृत समाजवादीका कनिष पटेललाई मन्त्री नियुक्त गरेका थिए।
तर, सरकार गठन भएको केही समय बितिसक्दा पनि मन्त्रालयको भागबण्डा टुंगिन नसक्दा नियुक्त भएका तीनैजना मन्त्रीहरु हालसम्म बिना विभागीय मन्त्रीका रुपमा जिम्मेवारीविहीन अवस्थामा छन्। शनिबारको बैठकले मन्त्रालय बाँडफाँटको गाँठो फुकाउने अपेक्षा गरिएको छ।














