२०८२ पुष १ गते, मंगलवार १९:११

वीरगन्जमा प्याब्सनको दोस्रो ‘टी–१०’ क्रिकेट मंगलबारदेखि, ६७ टिम भिड्दै

वीरगन्ज-

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगन्ज महानगर समितिको आयोजनामा ‘दोस्रो संस्करणको गर्ल्स तथा जुनियर ब्वाइज टी–१० नकआउट क्रिकेट प्रतियोगिता’ मंगलबार (भोलि) देखि सुरु हुने भएको छ ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउँदै अनुशासन, नेतृत्व क्षमता र टिमवर्कको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

वीरगन्जस्थित आदर्शनगर रंगशालामा सञ्चालन हुने प्रतियोगितामा प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका ३३ वटा छात्रा (Girls) टिम र ३४ वटा जुनियर छात्र (Junior Boys) टिम गरी कुल ६७ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सनवीरगन्जका सचिव अमित आलोकले खेल तालिका र पुरस्कार राशीबारे जानकारी गराए । उनका अनुसार प्रतियोगिताको उद्घाटन पुस २ गते बिहान ११ बजे हुनेछ भने समापन पुस १६ गते गरिनेछ ।

सचिव आलोकका अनुसार प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, प्लेट च्याम्पियनसिप विजेतालाई पनि ट्रफीको व्यवस्था गरिएको छ ।

व्यक्तिगत विधातर्फ ‘प्लेयर अफ द टुर्नामेन्ट’, ‘उत्कृष्ट ब्याटर’, ‘उत्कृष्ट बलर’, ‘उत्कृष्ट फिल्डर’ र ‘सर्वाधिक अनुशासित टिम’ लाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ र फाइनल खेलको उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकले वीरगञ्जको खेलकुद विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ । विशेषगरी छात्रातर्फको क्रिकेट प्रवर्द्धन गर्ने र भविष्यका लागि दक्ष खेलाडी उत्पादनमा यो प्रतियोगिताले कोसेढुङ्गाको काम गर्ने विश्वास प्याब्सन वीरगञ्जले लिएको छ । टी–१० (१० ओभर) को नकआउट फर्म्याटमा खेलाइने हुँदा सीमित समयमा विद्यार्थीले आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् ।

पत्रकार सम्मेलनमा प्याब्सन वीरगञ्जका नगर अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ सल्लाहकार अशोक सङौला, सल्लाहकारहरू अलोक चौरसिया, विजय बल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सफल पार्न आयोजकले सम्पूर्ण अभिभावक, शिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीमा सहयोगको अपिल गरेको छ ।

पोडकास्ट सुन्नुहोस