जनकपुरधाम-
मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदको पूर्ति गर्न बुधबारदेखि औपचारिक रूपमा चयन प्रक्रिया सुरु हुने भएको छ। सत्तारूढ गठबन्धनबीच भएको सहमति अनुसार पुस ५ गतेसम्म नयाँ सभामुख चयन गरिसक्ने तयारी गरिएको छ।
करिब एक महिनादेखि नेतृत्वविहीन रहेको प्रदेश सभाले नयाँ सभामुख पाउन लागेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक कुवरकान्त झाका अनुसार, बुधबार बस्ने प्रदेश सभाको बैठकबाट निर्वाचन प्रक्रिया अघि बढाइनेछ। झाले भने, “गठबन्धनको सहमति अनुरुप प्रक्रिया अगाडि बढाएर पुस ५ गतेसम्म सभामुख चयनको विषय टुंगो लगाउने योजना छ।”
प्रक्रियालाई व्यवस्थित बनाउन उपसभामुख बबिताकुमारी राउत ईशरले बुधबार (पुस २ गते) बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएकी छन्।
उपसभामुख ईशरका अनुसार, लामो समयदेखि रिक्त रहेको सभामुख पदको निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने र प्रदेश सभाको नियमित बैठक सञ्चालन गर्ने सन्दर्भमा दलहरूसँग छलफल गर्न उक्त बैठक डाकिएको हो।
तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएको झन्डै एक महिनापछि यो प्रक्रिया सुरु हुन लागेको हो। पदीय अनुकूल आचरण नगरेको भन्दै ७ दलीय वर्तमान सत्ता गठबन्धनले मण्डल विरुद्ध प्रस्ताव ल्याएको थियो।
गत मंसिर ३ गते उपसभामुख ईशरको अध्यक्षतामा बसेको बैठकले मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उक्त प्रस्ताव पारित गर्दै मण्डललाई पदमुक्त गरेको थियो। त्यसयता प्रदेश सभामा सभामुखको पद रिक्त रहँदै आएको छ।












