वीरगन्ज-
वीरगन्ज–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्ट फेरि एक पटक गम्भीर विवादको घेरामा तानिएको छ। उक्त रेस्टुरेन्टमा कार्यरत २० वर्षीया युवती सुनिता स्यान्बोको शङ्कास्पद मृत्युले होटल सञ्चालकको भूमिका माथि गम्भीर प्रश्न खडा गरिदिएको छ। मङ्सिर २७ गते शनिबार त्रिशला रेस्टुरेन्टसँगै जोडिएको मारवाडी सेवा सङ्घको धर्मशालाको कोठा नम्बर १०५ मा स्यान्बो मृत अवस्थामा फेला परेकी थिइन
सञ्चालक किन उम्किन खोज्दैछन्?
अनमोल कुमारद्वारा सञ्चालित त्रिशला रेस्टुरेन्टमा काम गर्ने युवतीको शव छिमेकैको धर्मशालामा फेला पर्नुले घटनालाई झन् रहस्यमय बनाएको छ। पीडित परिवार र स्थानीयले यसलाई सिधै ‘हत्या’ को संज्ञा दिएका छन्। बुधबार वीरगन्जको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सञ्चालक अनमोल कुमारलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै चर्को नाराबाजी गरे। उनीहरूले प्रश्न गरेका छन्- “आफ्नो कर्मचारीको मृत्यु हुँदा सञ्चालकले जिम्मेवारी लिनुको साटो किन मौनता साँचिरहेका छन्?”
प्रमाण मेटाउने खेलको आशङ्का
घटनास्थलमा पुगेका स्थानीय जनप्रतिनिधिहरूले शव उठाउने प्रक्रियामै गम्भीर त्रुटी औंल्याएका छन्। जनप्रतिनिधि र मुचुल्का उठाउने टोली नपुग्दै शवलाई चलाउनु र खाटमा राख्नुले होटल व्यवस्थापन र सम्बन्धित पक्षले प्रमाण नष्ट गर्न खोजेको देखिन्छ। युवती मारिएको ६ दिन बितिसक्दा पनि सञ्चालकलाई अनुसन्धानको दायरामा मात्रै राख्नु तर पक्राउ नगर्नुले ‘शक्ति र पैसा’ को चलखेल भएको हुनसक्ने भन्दै पर्सागढीका स्थानीय आक्रोशित बनेका छन्।
न्यायको खोजीमा सडक आन्दोलन
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकको नेतृत्वमा आएको जुलुसले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय घेराउ गर्दै होटल सञ्चालकबाट उचित क्षतिपूर्ति र दोषीलाई कडा कारबाहीको माग गरेको छ। “गरिबकी छोरी काम गर्न आएकी थिइन्, लास बनेर फर्किइन्। यसको हिसाब होटल सञ्चालकले दिनैपर्छ,” प्रदर्शनमा सहभागी एक स्थानीयले आक्रोश पोखे।
प्रहरीको मौनता र नियन्त्रणमा रहेका ‘गुमनाम’ व्यक्ति
प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको बताए पनि उनीहरू होटलका कर्मचारी हुन् वा सञ्चालकका निकटवर्ती, त्यो खुलाउन चाहेको छैन। रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गर्न भइरहेको ढिलाइले पीडित परिवारमा न्याय नपाइने हो कि भन्ने त्रास बढेको छ।
त्रिशला जस्ता रेस्टुरेन्टहरूमा काम गर्ने युवतीहरूको सुरक्षामाथि पटक-पटक प्रश्न उठ्ने गरे पनि प्रशासनको फितलो निगरानीका कारण सुनिताहरूले अकालमै ज्यान गुमाउनु परेको भन्दै अहिले वीरगन्जमा सञ्चालक विरुद्ध जनआक्रोश चुलिएको छ।













