२०८२ पुष ३ गते, बिहीबार १७:२६

वीरगन्जका चर्चित चिकित्सक डा. सिंहको नेपाल चिकित्सक संघको उपाध्यक्षमा उम्मेदवारी

वीरगन्ज-
एक दशकभन्दा बढी समयदेखि वीरगन्जस्थित नारायणी अस्पतालमा सेवा प्रदान गर्दै आएका चर्चित चिकित्सक डा. उदयनारायण सिंहले नेपाल चिकित्सक संघ (एनएमए) को उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । संघको ३०औँ कार्यकारिणी समितिका लागि उनले मधेस प्रदेश संयोजकको रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

मानव सेवामा समर्पित डा. सिंहले उम्मेदवारी दर्तासँगै चिकित्सक तथा चिकित्सकीय पेशामा देखिएका विद्यमान बेथितीको अन्त्य गर्ने प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् ।
‘जागौँ चिकित्सक, जागौँ—सबल र अब्बल एनएमए बनाउन लागौँ’ भन्ने नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले चिकित्सकहरूका थाती तलब, पेशागत सुरक्षा तथा सेवा–सुविधासम्बन्धी मुद्दालाई प्राथमिकतामा राख्ने बताएका छन् ।

त्यसैगरी, पोस्टग्राजुएट अध्ययन पूरा गरेका तर दरबन्दी अभावका कारण बढुवाबाट वञ्चित चिकित्सकहरूको हकहितका लागि सरोकारवाला निकायसँग पहल गर्ने तथा सरकारी नियुक्तिमा व्याप्त दलगत प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

प्रदेशस्तरीय एनएमए शाखाहरूबीच समन्वय गर्दै सेवा, सुविधा, सुरक्षा र शैक्षिक क्रियाकलापहरू वार्षिक कार्यतालिकाअनुसार सञ्चालन गर्ने विषय पनि उनको प्रतिबद्धतामा समेटिएको छ ।

डा. मगल रावल नेतृत्वको प्यानलबाट उम्मेदवारी दर्ता गराएका डा। सिंहले कोरोना महामारीका बेला संक्रमण नियन्त्रण तथा संक्रमितको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नारायणी अस्पतालको इमर्जेन्सी शाखा प्रमुख रहँदा आकस्मिक कक्षको स्तरोन्नति, चिकित्सक तथा कर्मचारीको हितमा विभिन्न पहल गरेको अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन् ।

कोरोना महामारीको कठिन समयमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्नुका साथै तराईका जिल्लामा सर्पदंशका बिरामीहरूको उपचारमा दिनरात खटिने कुशल चिकित्सकका रूपमा डा. सिंह परिचित रहेको अस्पतालका कर्मचारीहरू बताउँछन् ।

नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा डा. सिंहको उम्मेदवारीप्रति हर्ष व्यक्त गर्दै नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले अवसर पाएमा उनले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरूको हितमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

पोडकास्ट सुन्नुहोस