वीरगन्ज –
वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीय युवाहरूले शनिबार अनोठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले केही दिनअघि युवाहरूलाई लक्षित गर्दै दिएको एक विवादास्पद अभिव्यक्तिको प्रतिवाद स्वरूप युवाहरूले नदीको प्रदूषित पानी बोतलमा भरेर महानगर पुगेका हुन्।
केही दिनअघि एक कार्यक्रममा मेयर सिंहले “युवाहरू छठका बेला मात्र कराउँछन्, त्यसपछि हराउँछन्” भनी टिप्पणी गरेका थिए। मेयरको सोही भनाइलाई चुनौती दिँदै युवाहरूले सिर्सियाको ढल जस्तै कालो र दुर्गन्धित पानी उपहारस्वरूप बुझाउन खोजेका हुन्।
मेयरद्वारा फोन बेवास्ता, नगर प्रहरीलाई बुझाइयो नमुना
आफ्नो माग र नदीको दयनीय अवस्थाबारे जानकारी गराउन महानगरपालिका पुगेका युवाहरूले मेयर सिंहलाई भेट्ने प्रयास गरेका थिए। तर, सो क्रममा पटक-पटक फोन गर्दा पनि मेयरले फोन नउठाएको र भेट नदिएको युवाहरूको गुनासो छ।
“मेयरज्यूले हामीलाई छठमा मात्र सक्रिय हुने आरोप लगाउनुभएको थियो, त्यसैले आज हामीले उहाँलाई सिर्सियाको वास्तविक अवस्था देखाउन यो प्रदूषित पानी उपहार ल्याएका हौँ,” युवा नेता बर्णवालले भने, “तर उहाँले हाम्रो फोन समेत उठाउनुभएन। अन्त्यमा हामीले उक्त प्रदूषित पानीको बोतल नगर प्रहरीलाई बुझाएर फर्किएका छौँ।”
प्रशासनमा पनि ध्यानाकर्षण
महानगर पुग्नुअघि युवाहरूको टोली सिर्सियाको पानीको नमुना बोकेर जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काम विशेषले कार्यालय बाहिर रहेको समयमा उनकै निर्देशन बमोजिम कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई पानीको नमुना बुझाइएको थियो। युवाहरूले प्रशासनमार्फत पनि नदी सफाइका लागि उद्योगहरूबाट हुने प्रदूषण रोक्न माग गरेका छन्।
वर्षौंदेखिको समस्या, बेवास्ताको पराकाष्ठा
औद्योगिक कोरिडोरका उद्योगहरूले विना प्रशोधन सिधै नदीमा रसायनयुक्त पानी र फोहर फाल्दा सिर्सिया नदी वर्षौंदेखि ढलमा परिणत भएको छ। स्थानीयले पटक-पटक आन्दोलन गरे पनि महानगर र प्रशासनले ठोस कदम चाल्न सकेका छैनन्।
मेयरको ‘मौसमी सक्रियता’ भन्ने टिप्पणीले थप आक्रोशित बनेका युवाहरूको यो सांकेतिक विरोधलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब महानगर नेतृत्वले यसलाई कतिको गम्भीरताका साथ लिन्छ र सिर्सिया सफाइको योजना कसरी अगाडि बढाउँछ भन्नेमा वीरगन्जवासीको चासो बढेको छ।















