२०८२ पुष ५ गते, शनिबार १५:०८

नेपाल सरकारका करिब १३ सय कर्मचारी सम्पर्कविहीन

काठमाडौँ –

निजामती सेवामा कार्यरत कर्मचारीको वास्तविक समय (रियल–टाइम) संख्या देखाउने सरकारी प्रणालीमै एकाएक ठूलो उतारचढाव देखिएको छ। राष्ट्रिय किताबखानाले सञ्चालन गरिरहेको कर्मचारी सूचना प्रणाली (पर्सनल इन्फरमेसन सिस्टम– पीआईएस) को ड्यासबोर्डमा २०८२ पौष ३ गते बिहीबार साँझ ७ बजे कर्मचारीको कुल संख्या ८६,३१५ बाट घटेर ८५,०१९ मा झरेको देखिएपछि प्रशासनिक वृत्तमा चासो बढ्यो। क्षणभरमै १,२९६ कर्मचारी प्रणालीबाट ‘जादुजस्तै’ हराएका देखिए।

यसले स्वाभाविक प्रश्न उठायो-के ती सबै कर्मचारीले एकैचोटि अवकाश लिए, राजीनामा दिए वा सेवाबाट बाहिरिए ? राष्ट्रिय किताबखानाका अनुसार यो घटना कुनै आकस्मिक त्रुटि होइन, बरु अभिलेख शुद्धीकरण अभियानको प्रत्यक्ष परिणाम हो।

किताबखानाको कर्मचारी सूचना प्रणालीमा आबद्ध कर्मचारीको नाम, कार्यालय, पद, सेवा, समूह, उपसमूह, तलब–भत्ता लगायत झण्डै ४ लाख ८ हजारभन्दा बढी विवरण अपूर्ण वा अशुद्ध अवस्थामा रहेको तथ्य बाहिरिएको छ। कर्मचारी सूचना बैंककै रूपमा रहेको निकायका लागि यस्तो अवस्था गम्भीर चुनौती बनेको र यसले संस्थाको विश्वसनीयतामै असर पारेको किताब खानाको स्वीकारोक्ति छ।

करिब ९ महिना अघि महानिर्देशकको जिम्मेवारी सम्हाल्न आएका श्रवण कुमार पोखरेलले प्रविधि सुधार, कर्मचारी सूचना प्रणालीलाई सजीव (लाइभ) र अन्तरप्रणालीयोग्य (इन्टरअपरेबिलिटी बनाउने, समयबद्ध सेवा प्रवाह, अभिलेखको डिजिटल रूपान्तरण तथा तथ्याङ्क शुद्धीकरणलाई प्राथमिकतामा राख्दै ‘सुधारका लागि विशेष अभियान’ सञ्चालन गर्दै आएका छन्।

त्यही अभियान अन्तर्गत ५१५ वटा भौतिक फाइल एक–एक गरी परीक्षण गर्दा सेवाबाट हटिसकेका प्रमाण संलग्न ३१ जनालाई प्रणालीबाट पूर्ण रूपमा हटाइएको छ। बाँकी ४८४ फाइल तथा थप अन्य अभिलेख अध्ययन गर्दा विगत १० वर्षदेखि कुनै पनि विवरण अद्यावधिक नभएका, सम्पत्ति विवरण नबुझाएका र सम्पर्कमै आउन नसकेका १,२६५ कर्मचारीको विवरण पनि लाइभ प्रणालीबाट हटाइएको हो।

दश वर्षभन्दा बढी समयदेखि निष्क्रिय तथा सम्पर्कविहीन ती कर्मचारीहरू सेवामा नरहेको अनुमानसहित, थप अनुसन्धानका लागि उनीहरूलाई लाइभ प्रणालीबाट हटाई ‘तामेली शाखा’ मा स्थानान्तरण गरिएको किताबखानाले जनाएको छ। यदि कोही प्रमाणसहित सम्पर्कमा आएमा पुनः शुद्धीकरण गर्न सकिने गरी सम्पूर्ण विवरण सुरक्षित राखिएको भए पनि, यस्तो सम्भावना लगभग शून्य रहेको महानिर्देशक पोखरेलको भनाइ छ।

यसैबीच, किताबखानाले सेवामा बहाल नै रहेका भए सम्पर्कमा आउन अनुरोध गर्दै १,२९६ जनाको नाम–नामेसीसहित सार्वजनिक सूचना आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

सुधार योजनाको अर्को चरणमा, यही पौष महिनाभित्र पहिलो चरण अन्तर्गत अवकाशप्राप्त कर्मचारीलाई भौतिक उपस्थितिबिनै सेवा दिने ‘फेसलेस सेवा’ सुरु गर्ने र आगामी तीन महिनाभित्र जिल्लाबाटै सेवा लिन सकिने ‘ई–पेन्सन सेवा’ लागू गर्ने कार्ययोजना रहेको राष्ट्रिय किताबखानाले जनाएको छ।

पोडकास्ट सुन्नुहोस