वीरगन्ज-
बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या र हिंसाको विरोधमा शनिबार वीरगन्जमा विभिन्न हिन्दुवादी संघ-संस्थाहरूले चर्को विरोध प्रदर्शन गरेका छन्।
वीरगन्जको ऐतिहासिक माइस्थान मन्दिरको प्राङ्गणबाट निकालिएको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो। जुलुसपछि घण्टाघरमा आयोजित कोणसभामा सहभागीहरूले बंगलादेश सरकारको कडा आलोचना गरे।
प्रदर्शनमा सहभागी हिन्दुवादी युवाहरूले “हिन्दुलाई मार्न पाइँदैन”, “बंगलादेशी मुस्लिम मुर्दाबाद” जस्ता चर्का नारा लगाएका थिए। सोही क्रममा आक्रोशित प्रदर्शनकारीहरूले प्लेकार्डमा अंकित बंगलादेशको राष्ट्रिय झण्डा समेत जलाएर आफ्नो विरोध प्रकट गरे।
विरोध प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित झडप वा अप्रिय घटनालाई ध्यानमा राख्दै पर्सा प्रहरीले वीरगन्जमा उच्च सतर्कता अपनाएको थियो। नगरका मुख्य चोक र संवेदनशील क्षेत्रहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले कुनै पनि देशमा अल्पसंख्यक भएकै आधारमा हिन्दुहरूलाई रुखमा बाँधेर जलाउने र हत्या गर्ने कार्य अमानवीय र निन्दनीय भएको बताए। “यदि अल्पसंख्यक भएकै कारण हिन्दुमाथि यस्तो अत्याचार हुन्छ भने, त्यसले बहुसंख्यक भएको स्थानमा पनि प्रतिकारको पाठ सिकाउँछ,” सहभागी एक प्रतिनिधिले आक्रोश व्यक्त गरे।
प्रदर्शनकारीहरूले बंगलादेश सरकारलाई त्यहाँ रहेका अल्पसंख्यक हिन्दुहरूको जिउधनको रक्षा गर्न र हिंसात्मक गतिविधि तत्काल रोक्न माग गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई पनि बंगलादेशमा भइरहेको मानवअधिकार उल्लंघनका घटनामा ध्यान दिन आग्रह गरेका छन्।














