२०८२ पुष ५ गते, शनिबार २०:०५

मधेश प्रदेशमा एचआईभी संक्रमितको संख्या बढ्दो, कार्यक्रम विस्तार भए पनि बजेट घट्दो

वीरगन्ज –

एचआईभी एड्सको संक्रमण रोकथामका लागि संघ सरकारको बजेट मात्रै पर्याप्त नहुने भन्दै स्थानीय र प्रदेश सरकारले पनि यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

एचआईभीसम्बन्धी कार्यक्रमहरू कागजमै सीमित नभई प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा वीरगन्जको होटल मकालुमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे छलफल गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले राष्ट्रिय एचआईभी कार्यक्रमको अवस्थाबारे प्रस्तुति दिँदै सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिक अन्त्य गर्ने लक्ष्यअनुसार केन्द्रले समावेशी र पहुँचयोग्य सेवा सुनिश्चित गर्न काम गरिरहेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन्, जसमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । १४ वर्ष मुनिका संक्रमितको संख्या १ हजार ५८ रहेको छ भने मधेश प्रदेशमा ४ हजार ६८७ जना उपचाररत छन् ।

हाल देशका ६४ जिल्लामा रहेका ९६ वटा एआरटी सेन्टरमार्फत एचआईभीसम्बन्धी सेवा प्रवाह भइरहेको उल्लेख गर्दै डा. शर्माले भारतसँग खुला सीमा जोडिएका क्षेत्रहरूमा संक्रमणको जोखिम बढी रहेको बताए । संक्रमित आमा–बुबालाई नियमित औषधि सेवनमा जोड दिनु र बच्चामा संक्रमण हुन नदिन विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यौनरोग नियन्त्रणका कार्यक्रमहरूमा बजेट अभाव, एआरटी काउन्सिलरको कमी र हरेक वर्ष संक्रमितको संख्या बढ्दै जानु चिन्ताको विषय बनेको उनले बताए । सेवा विस्तार हुँदै गए पनि यस क्षेत्रमा सरकारको बजेट भने घट्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सीमा क्षेत्रहरू एचआईभीका दृष्टिले बढी संवेदनशील भएकाले मिडियाले यस्ता विषयमा निरन्तर सहकार्य र उठान गर्नुपर्ने बताए । नागरिकलाई सही सूचना दिन र सचेतना फैलाउन मिडियाको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख बिनोद झा र वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख राजु साहले जिल्ला र महानगरभित्र एचआईभी परीक्षण, उपचार र सचेतनाका क्षेत्रमा भइरहेका कामहरूको जानकारी गराए ।

एएचएफ नेपालका बजार तथा कार्यक्रम व्यवस्थापक राधेश्याम श्रेष्ठले संस्थाबारे जानकारी दिँदै एड्स हेल्थ केयर फाउण्डेशन ४९ देशमा एचआईभी तथा यौनरोगको क्षेत्रमा कार्यरत गैरनाफामूलक संस्था रहेको बताए ।

विश्वभर करिब २६ लाख एचआईभी संक्रमितलाई सेवा प्रदान गर्दै आएको एएचएफले सन् २००९ देखि नेपालमा टेकु अस्पतालबाट एआरटी सेवा सुरु गरेको र हाल १७ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

एचआईभी परीक्षण, समुदायस्तरमै उपचार, टीबी स्क्रिनिङ र सचेतनाका कार्यक्रममार्फत नेपाल सरकारलाई सहयोग गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रमको उद्देश्यबारे एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले प्रकाश पारेका थिए । एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफले पनि काउन्सिलिङ र फिल्डस्तरका अनुभवबारे जानकारी दिएकी थिइन् ।

कार्यक्रममा एएचएफ नेपालका मयंक गुप्ता, राघवेन्द्र पाल लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस