२०८२ पुष ५ गते, शनिबार २०:०५

बंगलादेशमा भएको अल्पसंख्यक हिन्दु युवकको हत्याप्रति नेपाल मुस्लिम समाज संघद्वारा घोर भर्त्सना

वीरगन्ज
नेपाल मुस्लिम समाज संघ, पर्साले बंगलादेशमा हालै एक निर्दोष अल्पसंख्यक हिन्दु युवकको निर्मम हत्या भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको घोर भर्त्सना गरेको छ।

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले मानवता, सहअस्तित्व र धार्मिक सहिष्णुतामाथि गम्भीर प्रहार गरेको उल्लेख गरेको छ। “यस प्रकारका अमानवीय, घृणाजन्य तथा हिंसात्मक घटनाले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ,” विज्ञप्तिमा भनिएको छ।

संघका अध्यक्ष महबुब अली (उर्फ शेरु) द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। साथै, धर्म, जाति वा समुदायको आधारमा गरिने कुनै पनि प्रकारको हिंसा सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने संघको दृढ धारणा छ।

नेपाल सरकारसमक्ष विभिन्न माग
मुस्लिम समाज संघले सम्बन्धित निकायहरूलाई सम्बोधन गर्दै निम्न ४ बुँदे मागहरू समेत अघि सारेको छ:
१. बंगलादेशमा भएको घटनाप्रति नेपाल सरकारको तर्फबाट औपचारिक चिन्ता र निन्दा प्रकट गर्न पहल गरियोस्।
२. नेपालभित्र रहेका सम्पूर्ण धार्मिक तथा अल्पसंख्यक समुदायको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्न प्रशासनिक सतर्कता सुदृढ बनाइयोस्।
३. समाजमा धार्मिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि, अफवाह वा घृणाजन्य अभिव्यक्तिमाथि कडा निगरानी गरियोस्।
४. अन्तरधार्मिक सहअस्तित्व, शान्ति र भाइचाराको सन्देश प्रवाह गर्न स्थानीय स्तरमा समन्वयकारी भूमिका निर्वाह गरियोस्।

नेपाल सधैं धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरण रहँदै आएको स्मरण गराउँदै संघले छिमेकी मुलुकका घटनाले नेपालभित्रको सद्भावमा असर पर्न नदिन राज्यका सबै निकाय सचेत र सक्रिय रहनुपर्नेमा जोड दिएको छ।

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस