२०८२ पुष ५ गते, शनिबार २०:०५

बंगलादेश घटनाको निष्पक्ष छानबिन हुनुपर्छ: उज्यालो नेपाल पार्टी, पर्साका संयोजक रामबाबु यादव

वीरगन्ज-

उज्यालो नेपाल पार्टी, जिल्ला समन्वय समिति पर्साले बंगलादेशमा हालै घटेका अमानवीय तथा दुःखद घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ। पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्सना गरेको हो।

पार्टीका जिल्ला संयोजक रामबाबु यादवद्वारा जारी विज्ञप्तिमा बंगलादेशको घटनाले मानवता, सभ्यता र सामाजिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। उज्यालो नेपाल पार्टीले आफूलाई मानव अधिकार, मानव मर्यादा र न्यायको पक्षमा उभिएको राजनीतिक शक्तिका रूपमा चिनाउँदै कुनै पनि प्रकारको हिंसा, अमानवीय व्यवहार, अन्याय र दमनलाई पार्टीले कडा रूपमा निन्दा गर्ने स्पष्ट पारेको छ।

विज्ञप्ति मार्फत पार्टीले पीडितप्रति गहिरो सहानुभूति प्रकट गर्दै दोषीहरूलाई कानुनी दायराभित्र ल्याई निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। “मानवता कुनै पार्टी, वर्ग, जात वा सीमाभन्दा माथि हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “समाज, देश र अन्तर्राष्ट्रिय समुदायसमक्ष हामी शान्ति, सहअस्तित्व, न्याय र करुणाको सन्देश दिन चाहन्छौँ”।

यस्ता घटनाबाट पाठ सिक्दै राज्य, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबैले मानव अधिकारको संरक्षणमा साझा जिम्मेवारी वहन गर्न आवश्यक रहेको पार्टीको ठहर छ। उज्यालो नेपाल पार्टीले सकारात्मक राजनीति, मानवीय संवेदना र जिम्मेवार नेतृत्वमार्फत समाजमा उज्यालो फैलाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

विज्ञप्तिको अन्त्यमा ‘मानवता जोगाऔँ, न्याय सुनिश्चित गरौँ, उज्यालो नेपाल बनाऔँ’ भन्ने नाराका साथ हिंसामुक्त, न्यायपूर्ण र मानवीय नेपाल निर्माणको यात्रामा सधैँ पीडितको पक्षमा उभिने प्रण गरिएको छ।

 

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस