२०८२ पुष ६ गते, आईतवार १५:०३

पर्सा प्रहरीद्वारा २४० केजी चरेशसहित दुई युवक पक्राउ

वीरगन्ज-
नेपालबाट भारततर्फ हुने प्रतिबन्धित लागुऔषध ओसारपसार नियन्त्रणका क्रममा पर्सा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। पर्सा प्रहरीले भारततर्फ लैजाँदै गरिएको २४० किलोग्राम चरेशसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त परिमाणको चरेश बरामद गरिएको र दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले मकवानपुर जिल्लाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुर क्षेत्रमा रोकी जाँच गर्दा चरेश बरामद भएको जानकारी दिनुभयो। सो क्रममा ट्रकका चालक र एक जना सवारलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो।

मकवानपुरबाट हिँडेको उक्त ट्रकमा चरेश लोड गरिएको भन्ने पूर्वसूचनाको आधारमा गरिएको कारबाहीका क्रममा ट्रकको क्याबिनभित्र बनाइएको गोप्य कोठाबाट २४० किलोग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ। त्यसपछि ट्रक चालक मकवानपुर थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोत्तान र सोही स्थानका २१ वर्षीय नवराज लोलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको छ। वीरगन्ज नाका हुँदै मकवानपुर, धादिङ, चितवनलगायतका जिल्लाबाट भारततर्फ हुने लागुऔषध ओसारपसारमा अन्य को–को व्यक्ति संलग्न छन् भन्ने विषयमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पोडकास्ट सुन्नुहोस