वीरगन्ज-
नेकपा एमाले र नेपाली कांग्रेसले संसद् पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतको फैसला कुर्दै रहेका बेला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले आजको आवश्यकता संसद् पुनःस्थापना नभई निर्वाचन भएको स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।
युवा पुस्ताले उठाएका सम्पूर्ण माग तथा देखिएका राजनीतिक समस्याको समाधान निर्वाचनबाट मात्रै सम्भव हुने उल्लेख गर्दै उहाँले नेता–कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न अपिल गर्नुभयो।
नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेतृ संग्रौलाले देशमा देखिएका सम्पूर्ण समस्याको समाधान निर्वाचनबाटै हुने भएकाले सरकारले निर्वाचनको वातावरण निर्माण गर्नु आवश्यक रहेको टिप्पणी गर्नुभयो।
युवा आन्दोलनबाट स्थापित वर्तमान सरकारको प्रमुख दायित्व तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु र त्यसका लागि उपयुक्त वातावरण तयार गर्नु भएको उहाँको भनाइ थियो।
नेतृ संग्रौलाले कांग्रेसको ढुलमुले नीतिका कारण मधेसमा पार्टी कमजोर हुँदै गएको बताउनुभयो। मधेस प्रदेशका आठवटै जिल्लाको भ्रमणका क्रममा नेता–कार्यकर्तासँग गरिएको छलफलबाट कांग्रेस मधेसमा कमजोर बन्दै गएको निष्कर्षमा पुगेको उहाँले जानकारी दिनुभयो।
संघीयता, समावेशिता, पहिचान र प्रतिनिधित्वजस्ता विषयमा कांग्रेसको नीति स्पष्ट नहुँदा मधेसमा पार्टी कमजोर भएको भन्दै उहाँले कांग्रेसले मधेस तथा देशकै हकमा स्पष्ट १० वर्षे नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
आगामी १० वर्षमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, युवा तथा महिला नेतृत्वका सवालमा कांग्रेसले के गर्ने भन्ने विषयमा स्पष्ट खाका बनाएर जनतामाझ जानुपर्ने भन्दै यस विषयलाई केन्द्रीय समितिको बैठकमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिनिधि सभाको सम्भावित उम्मेदवार सिफारिसमा पुरानै अनुहार दोहोरिएको विषयप्रति टिप्पणी गर्दै नेतृ संग्रौलाले परिवर्तन र रूपान्तरणको कुरा गरिए पनि देशभर पुरानै अनुहार सिफारिस हुनु दुःखद भएको बताउनुभयो।
केन्द्रीय समितिले समावेशिताका आधारमा महिला, युवा, दलित लगायत सबै समुदायको सहभागिता सुनिश्चित हुने गरी कम्तीमा तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरे पनि त्यसको पालना नभएको उल्लेख गर्दै उहाँले केन्द्रीय निर्देशनअनुसार उम्मेदवार सिफारिस गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको जानकारी दिनुभयो।
पहिले चुनाव लडेका र पुरानै अनुहारलाई मात्र सिफारिस गर्नु गलत भएको भन्दै उहाँले समावेशितालाई आत्मसात् गर्दै प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्न अपिल गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नारायणी रायमाझी, नेपाली कांग्रेस पर्साका कार्यवाहक जिल्ला अध्यक्ष रामनारायण कर्मी, जिल्ला सचिव दिनेश चौधरीलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।














