वीरगन्ज-
सिमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले वीरगन्जमा नियम–कानुनको धज्जी उडाउँदै गरेको एउटा अपरिपक्व ‘अपरेशन’ प्रत्युत्पादक बनेको छ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा बेस क्याम्प वीरगन्जका डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा गएको टोलीले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा बिनाकुनै पूर्वतयारी र कानुनी प्रक्रिया पुरा नगरी नागरिकको घरमा खानतलासी गर्दा नराम्रो पराजय भोग्नु परेको छ ।
बिहीबार बिहान १० बजे सिर्सियाको मौजे टोलस्थित भुलाही पटेल र रामाकान्त पटेलको घरमा डिएसपी भण्डारीको नेतृत्वमा सशस्त्र प्रहरी र भन्सारको टोलीले छापा मार्न पुगेको थियो । विशेष सूचनाको दाबी गर्दै पुगेको टोलीले घरधनीसँग खानतलासी पुर्जी समेत देखाउन सकेन । कानुनी प्रक्रिया विपरित जबरजस्ती घरमा पस्न खोजेपछि स्थानीयवासी आक्रोशित भएका थिए ।
सो क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । स्थानीयको प्रतिकारमा परी नाम नखुलेका एक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले मुक्का समेत खाएका छन् । वडा अध्यक्ष आशुतोष चतुर्वेदीका अनुसार सशस्त्र प्रहरीले रितपूर्वक खानतलासी गर्नुपर्नेमा नियम मिच्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । उनले भने, “सशस्त्रले नियम–कानुनको धज्जी उडाउँदै खानतलासी गर्न खोज्यो, सोही क्रममा स्थानीयसँग झडप हुँदा एक इन्स्पेक्टरलाई तीन–चार फाईट लागेको छ ।”
झडपको दुई घण्टापछि मात्र डिएसपी भण्डारीले भन्सार विभागका कर्मचारीसहित आधिकारिक खानतलासी पत्र लिएर पुनः पटेलको घर पुगेका थिए । सुरक्षा निकायले निकै सुक्ष्म तरिकाले घरका कुना–कुना खानतलासी गरे पनि कुनै पनि अवैध वस्तु वा तस्करीका सामान फेला पार्न सकेन । अन्ततः “ठुलो सफलता” पाउने आशमा पुगेको सशस्त्र प्रहरी टोली रित्तो हात फर्कन बाध्य भयो ।
डिएसपी भण्डारीले भने गोप्य सूचनाका आधारमा खानतलासी गरिएको तर केही फेला नपरेको भन्दै आफ्नो बचाउ गरेका छन् ।
यता, पीडित रामाकान्त पटेलले सशस्त्र प्रहरीले आफ्नो ‘स्टन्ट’ देखाउन र आर्थिक प्रलोभनमा परेर तस्करलाई संरक्षण गर्दै सर्वसाधारणको मानहानी गरेको आरोप लगाएका छन् । “हामी इज्जतदार नागरिक हौँ, कुनै अवैध व्यापार गर्दैनौँ,” पटेलले आक्रोश व्यक्त गर्दै भने, “पहिले जबरजस्ती पस्न खोजियो, पछि पुर्जी ल्याएर चेक गर्दा पनि केही भेटिएन । यसले हाम्रो सामाजिक प्रतिष्ठामा आँच पुर्याएको छ र अनावश्यक तनाव दिएको छ ।”
सुरक्षा निकायको यस्तो हचुवा कार्यशैलीले एकातिर वास्तविक तस्करहरू उम्किने र अर्कोतिर सर्वसाधारणले अनावश्यक सास्ती पाउने भन्दै स्थानीयले सशस्त्र प्रहरीको कडा आलोचना गरेका छन् । बिनापुर्जी र बिनाप्रमाण नागरिकको निजी निवासमा गरिने यस्ता हस्तक्षेपले सुरक्षा संयन्त्रकै विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।














