२०८२ पुष १० गते, बिहीबार १९:१४

गरिबको लासमाथि मिडिया ट्रायल’ : छोरा जोगाउन अशोक टेमानीको प्रपञ्च

वीरगन्ज-

सत्ता र शक्तिको आडमा अपराधीलाई जोगाउने खेल मधेशमा नौलो होइन, तर उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले आफ्ना छोरालाई जोगाउन ‘गरिबको लास’ माथि नै राजनीति सुरु गरेको गम्भीर आरोप लागेको छ । बुधबार जितपुरमा टेमानीका छोरा यश अग्रवाल (टेमानी) ले चलाएको विलासी कारको ठक्करबाट एक गरिब मजदुरको मृत्यु भएपछि अहिले यो घटनालाई सामसुम पार्न र अपराधीलाई उम्काउन ठुलै कसरत भइरहेको खुलासा भएको छ ।

के हो घटना ?

बुधबार जितपुर सिमरा उपमहानगरपालिकाको ‘केरा ढोका’ नजिक बा ०१०३३ च २४८१ नम्बरको कारले ठक्कर दिँदा वीरगन्ज महानगरपालिका वडा नं. ३२ निवासी ४५ वर्षीय रामबालक सहनीको निर्मम मृत्यु भएको थियो । प्रत्यक्षदर्शी र प्रहरीका अनुसार गाडी अशोक टेमानीका छोरा यश अग्रवालले चलाइरहेका थिए । दुर्घटना लगत्तै गम्भीर घाइते भएका सहनीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

प्रहरीको पुष्टि : ‘यश नै चालक हुन्’

घटनालाई ट्वीस्ट दिन र छोरालाई बचाउन अशोक टेमानीले ‘गाडी चालकले चलाएको’ भन्दै केही मिडियामार्फत भ्रम फैलाउन खोजे पनि प्रहरीले त्यसको धज्जी उडाएको छ । जितपुर सिमरा प्रहरी कार्यालयका इन्स्पेक्टर दिवाकर बनेतले स्पष्ट पारेका छन् कि गाडी यश अग्रवालले नै चलाएका थिए र उनले प्रहरी बयानमा समेत यो कुरा स्वीकार गरिसकेका छन् ।

इन्स्पेक्टर बनेतका अनुसार गाडीमा यशका साथमा अन्य तीन जना साथीहरू पनि सवार थिए । “गाडी यश टेमानीले नै चलाएको पुष्टि भइसकेको छ, उनले बयानमा पनि स्वीकारेका छन्,” इन्स्पेक्टर बनेतले भने, “प्रहरीले इमानदारीपूर्वक स्थलगत प्रमाणका आधारमा अनुसन्धान गरिरहेको छ, यसमा तलमाथि हुने ठाउँ छैन ।”

‘गरिबको लासमा मिडिया ट्रायल’ : पीडित परिवारको आक्रोश

आफ्नो कमाइ खाने अभिभावक गुमाएको सहनी परिवार यतिबेला शोकमा छ । तर, अपराधीलाई कारबाही गराउनुको साटो अशोक टेमानीले पैसा र पहुँचको बलमा मिडिया ट्रायल सुरु गरेको पीडित परिवारको आरोप छ । रामबालक सहनीको परिवारले भनेका छन्, “अशोक टेमानीले आफ्ना छोरालाई बचाउन झुठो अफवाह फैलाइरहेका छन् । एउटा गरिबको लासमाथि आफ्नो पक्षमा मिडिया ट्रायल गराएर न्यायलाई दबाउन खोज्नु अमानवीयताको पराकाष्ठा हो ।”

पीडित पक्षले टेमानीले केही सञ्चार माध्यमलाई प्रयोग गरेर घटनाको सत्यतथ्य बङ्ग्याउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूका अनुसार प्रहरीको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी टेमानीले ‘चालकले गाडी चलाएको’ ठोकुवा गर्नु सरासर झुट र पीडितमाथिको थप अन्याय हो ।

सम्पर्कविहीन टेमानी

आफ्नो छोरा संलग्न हत्या (सवारी ज्यान) को विषयमा प्रतिक्रिया लिन खोज्दा अशोक टेमानीले भने फोन उठाउन चाहेका छैनन् । पटक–पटक सम्पर्क गर्न खोज्दा र मेसेज पठाउँदा समेत उनले कुनै प्रतिक्रिया दिएका छैनन् । यसले पनि उनी पर्दा पछाडि बसेर घटनालाई सामसुम पार्ने खेलमा लागेको आशंकालाई बल पुर्‍याएको छ ।

प्रहरीका अनुसार बिहीवार साँझसम्म पीडित पक्षले जाहेरी दर्ता गरिसकेका छैनन् । जाहेरी आएलगत्तै कानुनी प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ । एउटा शक्तिशाली व्यवसायीको छोराले गरेको गल्तीलाई ढाकछोप गर्न खोज्ने कि कानुनी राज्यको उपहास हुन नदिने ? यो अहिले सबैको चासोको विषय बनेको छ ।

पोडकास्ट सुन्नुहोस