प्योङयाङ-
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२६ लाई लक्षित गर्दै क्षेप्यास्त्र तथा गोला–बारुद उत्पादन तीव्र बनाउन र थप हतियार कारखाना निर्माण गर्न निर्देशन दिएका छन्। सरकारी सञ्चारमाध्यमले शुक्रबार यो जानकारी दिएको हो।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (KCNA) का अनुसार शीर्ष अधिकारीहरूको साथमा हतियार उद्योगसम्बन्धी प्रमुख कारखानाहरूको निरीक्षणका क्रममा किमले आगामी वर्ष उत्पादनका दृष्टिले अत्यन्त व्यस्त हुने उल्लेख गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्।
किम जोङ उनले प्योङयाङको सशस्त्र सेनाको बढ्दो माग पूरा गर्न “समग्र उत्पादन क्षमतामा थप विस्तार गर्न आवश्यक रहेको” बताएका छन्। उनले नयाँ युद्ध सामग्री कारखानाहरू निर्माण गर्न आदेश दिएका छन्। “क्षेप्यास्त्र र गोला–बारुद उत्पादन क्षेत्र हाम्रो युद्ध प्रतिरोध क्षमतालाई मजबुत बनाउने मुख्य आधार हो,” KCNA ले किमको भनाइ उद्धृत गरेको छ।
पछिल्ला वर्षहरूमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको संख्या उल्लेख्य रूपमा बढाएको छ। विश्लेषकहरूका अनुसार यी परीक्षणहरू सटीक आक्रमण क्षमता अभिवृद्धि गर्ने, अमेरिका र दक्षिण कोरियालाई चुनौती दिने तथा निर्यातपूर्व हतियारको परीक्षण गर्ने उद्देश्यले गरिएको मानिन्छ।
रूससँग सैन्य सहकार्य गहिरिँदै
रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता उत्तर कोरिया र रूसबीचको सम्बन्ध झनै नजिकिएको छ। उत्तर कोरियाले रूसको पक्षमा सैनिक, तोपका गोला, क्षेप्यास्त्र तथा लामो दूरीका रकेट प्रणाली पठाएको आरोप लाग्दै आएको छ। यसको बदलामा रूसले उत्तर कोरियालाई आर्थिक सहायता, सैन्य प्रविधि तथा खाद्य र ऊर्जा आपूर्ति उपलब्ध गराइरहेको विश्लेषकहरूको भनाइ छ।
यसैबीच, अमेरिकाले रूसले उत्तर कोरियालाई उन्नत अन्तरिक्ष तथा उपग्रह प्रविधिमा सहयोग गरिरहेको प्रमाण रहेको दाबी गरेको छ।
किमको यो निरीक्षण भ्रमण, उनले हालै आणविक पनडुब्बी कारखानाको अवलोकन गर्दै दक्षिण कोरियाको सम्भावित आणविक पनडुब्बी निर्माणलाई “खतरा” का रूपमा लिँदै त्यसको जवाफ दिने प्रतिबद्धता जनाएपछि सार्वजनिक भएको हो। KCNA का अनुसार उनले “नयाँ पानीमुनि प्रयोग हुने गोप्य हतियार” सम्बन्धी अनुसन्धानबारे पनि जानकारी लिएका छन्।
यसअघि किमले जापान सागरमाथि नयाँ प्रकारको उच्च उचाइमा प्रहार गर्न सक्ने लामो दूरीको एन्टी–एयर मिसाइलको परीक्षण प्रक्षेपणको अनुगमन गरेका थिए। उनले सन् २०२६ को सुरुआतमा आयोजना हुने सत्तारुढ कोरियन वर्कर्स पार्टीको करिब पाँच वर्षपछि हुन लागेको पहिलो महाधिवेशनमा नयाँ आधुनिकीकरण तथा उत्पादन योजनाहरू सार्वजनिक गरिने पनि बताएका छन्।














