२०८२ पुष ११ गते, शुक्रबार १४:३१

कारको ठक्करले मजदुर मार्ने यशमाथि जाहेरी दर्ता: जोगाउन विभिन्न प्रपञ्च सुरु

साथीहरूलाई समेत बयानका लागि झिकाउने

वीरगन्ज-

धनबलको उन्मादमा तीव्र गतिले वाहन कुदाउदा गरिब मजदुरको ज्यान लिने वीरगन्जका यश अग्रवाल (टेमानी) माथि सवारी ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। सवारी दुर्घटनामा परी मृत्यु भएका रामबालक सहनीका भाइ, वीरगन्ज महानगरपालिका वडा नं. ३२ निवासी नगिना सहनी मलाहले शुक्रबार इलाका प्रहरी कार्यालय जितपुर सिमरामा यश अग्रवाल विरुद्ध जाहेरी दर्ता गराएका हुन्।

​गत बुधबार जितपुर सिमरा उपमहानगरपालिकाको केराढोकामा यश अग्रवालले तीव्र गतिमा कुदाएको बा ०१-०३३ च २४८१ नम्बरको कारले ठक्कर दिँदा सहनीको अकालमा मृत्यु भएको थियो। उनी विरुद्ध सवारी ज्यान मुद्दामा कारबाही गर्न माग गर्दै जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय जितपुर सिमराका प्रहरी निरीक्षक दिवाकर बस्नेतले जानकारी दिनुभयो।

​प्रहरी नियन्त्रणमा रहेका यश अग्रवाललाई आजै बारा जिल्ला अदालतमा उपस्थित गराई सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न म्याद लिने तयारी भइरहेको निरीक्षक बस्नेतले बताउनुभयो। दुर्घटनाका बेला कारमा सवार रहेका यशका अन्य तीन जना साथीहरूलाई समेत बयानका लागि झिकाउने तयारी भएको छ।

​घटनामा निर्दोष नफसुन् र दोषीले उम्किने कुनै ठाउँ नपाउन् भन्ने अभिप्राय राख्दै प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान अगाडि बढाएको निरीक्षक बस्नेतले जानकारी दिनुभयो। घटनास्थलमा यशले आफुले नै गाडी चलाएको ब्यान गरिसकेका छ्न साथै  सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीहरूको बयान र अन्य प्रमाण जुटाउने कार्यमा प्रहरी सक्रिय रहेको उहाँले बताउनुभयो।

​दुर्घटनाका बेला कारको गति कति थियो भन्ने प्राविधिक जाँच हुन बाँकी छ भने कारमा सवार रहेकाहरूको बयानबाट थप तथ्यहरू खुल्ने प्रहरीको भनाइ छ।

​दुर्घटनाको प्रकृति कस्तो थियो?

​त्रिभुवन राजपथको जितपुर सिमरा उपमहानगरपालिका, केराढोका स्थित जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा यशले चलाएको कारले सहनीलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। दुर्घटनाका बेला कारको गति ५० किलोमिटर प्रतिघण्टा रहेको चालक यशले बयान दिए तापनि दुर्घटनाको प्रकृति हेर्दा गति त्योभन्दा बढी रहेको प्रहरीको ठम्याइ छ। घाइतेको तत्कालीन अवस्था र ठक्करको प्रकृतिले कारको गति अत्यधिक रहेको सङ्केत गरेको प्रहरीले जनाएको छ।

​दोषी बचाउने खेल र प्रपञ्च सुरु

​जसपा नेपालका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी अहिले आफ्ना छोरा यश अग्रवाललाई सवारी ज्यान मुद्दाबाट जोगाउन धन र राजनीतिक शक्तिको उच्चतम प्रयोगमा जुटेका छन्।

​मजदुरको ज्यान लिएको अभियोगमा पक्राउ परेका छोरालाई प्रहरी नियन्त्रणबाट बाहिर निकाल्न टेमानीले एकतर्फ सञ्चारमाध्यमलाई धनबलको माध्यमले दुरुपयोग गर्दै भ्रामक खबर फैलाउन लागेका छन् भने अर्कोतर्फ राजनीतिक शक्तिलाई समेत परिचालन गरेका छन्।

​पीडितलाई प्रलोभनमा पारी छोरा जोगाउने दाउ

​अत्यन्त गरिब रहेका मृतक सहनीका परिवारलाई पैसाको लोभ देखाई मुद्दालाई मिलापत्रमा टुङ्ग्याउने दाउमा टेमानी लागिपरेका छन्। मृतकका भाइ नगिना सहनी र उनका साला राजेन्द्र सहनीलाई मुद्दा मामिला नगर्ने सर्तमा ९ लाख ५० हजार रुपैयाँ दिने शुक्रबार मौखिक सहमति समेत भएको बुझिएको छ।

​राजेन्द्र सहनीले ९ लाख ५० हजार रुपैयाँमा सम्झौता भएको बताउनुभएको छ। उहाँका अनुसार, “पहिले कलैया अस्पतालमा रहेको रामबालक सहनीको शव बुझेर दाहसंस्कार गर्छौं, त्यसपछि सम्झौता अनुसारको रकम टेमानीले दिने मौखिक सहमति भएको छ।”

​मृतक सहनीका आश्रित श्रीमतीसहित २० वर्ष र १८ वर्षका दुई छोरीहरू छन्। परिवारमा कमाउने एकमात्र मुख्य व्यक्ति बुवा नै रहेको छोरी लक्ष्मीले जानकारी दिएकी छिन्।

पोडकास्ट सुन्नुहोस