२०८२ पुष १३ गते, आईतवार १५:१३

वीरगन्ज नाकाको व्यापार घाटा साढे पाँच गुणाले घट्यो

बि.चौहान

वीरगन्ज— राष्ट्रिय राजस्वमा सबैभन्दा बढी योगदान दिने वीरगन्ज नाकाको व्यापार सन्तुलनमा उल्लेखनीय सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकामार्फत हुने आयातमा कमी आएको छ भने निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको छ।

वीरगन्ज नाकालाई प्रयोग गरी नेपालका लागि हुने आयात–निर्यातको तुलनामा व्यापार घाटा करिब साढे पाँच गुणाले घटेको छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाको व्यापार घाटा ५४५.८४ प्रतिशतले कम भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनामा वीरगन्ज नाकाको व्यापार घाटा १,३४४.८० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त घाटा घटेर ७९८.९६ प्रतिशतमा झरेको छ।

त्यस्तै, गत आर्थिक वर्षमा वीरगन्ज नाकाको कुल व्यापार घाटा ३ खर्ब ३९ अर्ब २७ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा उक्त घाटा घटेर २ खर्ब ८४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको भन्सार कार्यालयले जानकारी दिएको छ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट ३ खर्ब ६ अर्ब १ करोड रुपैयाँ बराबरको मालवस्तु आयात र २१ अर्ब १८ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो। चालु आर्थिक वर्षमा भने ३ खर्ब ५९ अर्ब २३ करोड रुपैयाँको आयात र ३९ अर्ब ९६ करोड रुपैयाँको मालवस्तु निर्यात भएको छ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट हुने आयात १८ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ८९ प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ।

नेपालका लागि सबैभन्दा बढी मालवस्तुको आयात–निर्यात हुने वीरगन्ज नाकाको व्यापार सन्तुलनमा देखिएको यो सकारात्मक प्रभाव राजस्व संकलनमा समेत प्रतिविम्बित भएको छ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले करिब १५ प्रतिशत बढी राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरिएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब १ करोड रुपैयाँले वृद्धि भई कुल ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ।

पोडकास्ट सुन्नुहोस