वीरगन्ज-
कठ्याङ्ग्रिदो जाडो र बाक्लो कुहिरो । विपन्न बस्तीका फुसका घरहरूमा चिसो सिरेटो छिर्दा वृद्धवृद्धा र बालबालिकाहरू थुरथुर काँपिरहेका थिए । पुसको यो ठिहीमा जब न्यानो ओढ्ने–ओछ्याउनेको अभावमा कतिपयको रात अनिदै बितिरहेको थियो, ठिक त्यति नै बेला राज्यको उपस्थितिले उनीहरूको मनमा एउटा आशाको दियो बाल्यो ।
आइतबार बिहान पौने १० बजेको समय । बहुदरमाई नगरपालिका–४ स्थित डकैलाबहुअरी प्रहरी चौकीको प्राङ्गणमा एउटा फरक दृश्य देखियो । त्यहाँ सुरक्षाकर्मीहरू ड्युटीमा मात्र थिएनन्, उनीहरू त चिसोले ठिहिर्याएका नागरिकको पीडामा मलम लगाउन ‘न्यानो’ बोकेर उभिएका थिए ।
जिल्ला सुरक्षा समिति पर्साको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल आफैँ कम्बल लिएर वृद्धवृद्धाको अगाडि पुग्दा धेरैका आँखामा खुसी झल्किन्थे । बहुदरमाई नगरपालिका (वडा नं. ३ र ६) र जगरनाथपुर गाउँपालिका (वडा नं. ६) का अतिविपन्न, दलित र सहाराविहीन परिवारका लागि त्यो कम्बल मात्र थिएन, राज्यले दिएको अभिभावकत्वको एउटा बलियो प्रमाण थियो ।
वर्दीमा सधैँ कडा देखिने सुरक्षाकर्मीहरू आज अत्यन्तै नरम र सहयोगी भावमा देखिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी बलका स.प्र.ना.उ. शम्भु कटुवाल र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल लगायतका अधिकारीहरू आफैँले जब विपन्न नागरिकका हातमा कम्बल थमाए, तब सुरक्षा र सेवाको वास्तविक अर्थ झल्किन्थ्यो ।
करिब २२० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कम्बल बुझ्दै गर्दा एक वृद्धले भने, “यो जाडोमा कसले हेर्ला र जस्तो लागेको थियो, तर सरकार हाम्रो घरदैलोमै आइपुग्यो । अबको रात अलि न्यानो गरी काटिने भयो ।”
चिसो त अझै बाँकी छ, तर सुरक्षा समितिले सुरु गरेको यो मानवीय अभियानले पर्साका विपन्न बस्तीहरूमा कम्तीमा पनि यो सन्देश प्रवाह गरेको छ कि– “तिमीहरू एक्लो छैनौ, तिम्रो दुःखमा साथ दिन हामी छौँ ।”















