२०८२ पुष १३ गते, आईतवार १७:११

पर्सा क्षेत्र नं. ३ बाट समानुपातिक सांसदका लागि युवा नेता मिरोज अहमद सिफारिस

वीरगन्ज-

नेकपा पर्सा र अखिल क्रान्तिकारीका प्रभावशाली युवा नेता मिरोज अहमद प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अहमदलाई पर्सा क्षेत्र नम्बर ३ बाट ‘मुस्लिम क्लस्टर’ अन्तर्गत समानुपातिक सांसदका लागि सिफारिस गरिएको हो ।

 वि.सं. २०७३ सालमा अखिल क्रान्तिकारीको साधारण सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका अहमद एक दशकदेखि निरन्तर संगठनमा सक्रिय छन् । नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता भई तत्कालीन ‘नेकपा’ गठन हुँदा उनी जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा थिए ।

उनले वीरगन्ज महानगर कमिटीको सह-संयोजक, सचिव हुँदै पर्सा जिल्ला अध्यक्षको रूपमा संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । हालै सम्पन्न अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय सचिव पदमा निर्विरोध निर्वाचित भएका थिए । उनको यो निर्विरोध चयनलाई संगठनभित्र उनको पकड र लोकप्रियताको रूपमा हेरिएको छ ।

विद्यार्थीका हकहित मात्र नभई शिक्षा, रोजगारी, सामाजिक न्याय र सुशासनका सवालमा मिरोज सधैँ अग्रपंक्तिमा रहँदै आएका छन् । विशेषगरी वीरगन्जमा सञ्चालन भएको ‘जेनजी’ (Gen-Z) आन्दोलनमा उनले खेलेको नेतृत्वदायी भूमिकाले युवा पुस्तामाझ उनको पहिचान बलियो बनाएको छ ।

नेकपा पर्साका इन्चार्ज विजय महतोका अनुसार अहमदलाई युवा र नयाँ पुस्ताको भावनालाई सदनसम्म पुर्‍याउन सक्ने नेताका रूपमा पार्टीले अघि सारेको हो । “मिरोज अहमदले जेनजी पुस्ता र मुस्लिम समुदायको मात्र नभई समग्र पर्साका युवाहरूको प्रतिनिधित्व गर्छन्, त्यसैले पार्टीले उनलाई उपयुक्त पात्रका रूपमा सिफारिस गरेको हो,” इन्चार्ज महतोले बताए ।

दक्ष सांगठनिक क्षमता र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय अहमदको सिफारिसलाई जिल्लाका युवा र विद्यार्थी राजनीतिमा सकारात्मक कदमका रूपमा लिइएको छ ।

पोडकास्ट सुन्नुहोस