वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाको अराजक शैलीले सीमा नाघेको छ। पदीय मर्यादाको धज्जी उडाउँदै वडाध्यक्ष चौरसियाले एक युवती र युवकको डेरामा अनाधिकृत रूपमा प्रवेश गरी कुटपिट र अभद्र व्यवहार गरेको घटनाले वीरगन्जको सुरक्षा र विधिको शासनमाथि नै प्रश्न उठाएको छ।
प्राप्त जानकारी अनुसार, गत शुक्रबार वडाध्यक्ष चौरसियाकी श्रीमती र पीडित युवती प्राची चौरसियाबीच सामान्य विवाद भएको थियो। सोही विवादलाई लिएर प्राची चौरसिया र उनीसँगै रहेका सौर्य सराफले सुरक्षाको माग गर्दै वडा प्रहरी कार्यालय बिर्तामा निवेदन दर्ता गराएका थिए।
दर्ता भएको निवेदनको आधारमा वडा प्रहरी कार्यालयले दुवै पक्षलाई छलफलका लागि आज (आइतबार) बोलाएको थियो। तर, कानुन पालना गराउने जिम्मेवारीमा रहेका वडाध्यक्ष चौरसिया विभिन्न बहाना बनाउँदै प्रहरी कार्यालय उपस्थित भएनन्। प्रहरीको छलफल छलेका चौरसियाले नियोजित रूपमा केही व्यक्तिहरूको जत्था लिएर एक्कासि प्राची र सौर्य बसिरहेको डेरामा प्रवेश गरी ताण्डव मच्चाएका प्राचिका भाईले गोप्यखबर लाई बताए
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वडाध्यक्ष चौरसियाले युवती प्राची चौरसिया र युवक सौर्य सराफमाथि अन्धाधुन्ध हातपात गरेको देखिन्छ। भिडियोमा महिला चिच्याउँदै रोइरहेको र वडाध्यक्षले शक्तिको उन्मादमा अभद्र व्यवहार गरिरहेको प्रष्ट देखिन्छ। आफ्नो घरमा भएको विवाद सुल्झाउनुको साटो उल्टै जनप्रतिनिधि नै हुलहुज्जतसहित अर्काको निजी निवासमा छिरेर कुटपिटमा उत्रिनुले उनको ‘डन’ प्रवृत्तिको उजागर गरेको छ।
घटना लगत्तै अहिले दुवै पक्षलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ। जनप्रतिनिधि नै कुटपिट र फौजदारी कसुर मानिने ‘घर प्रवेश’ (House Trespass) जस्तो कार्यमा संलग्न भएपछि स्थानीयवासीले चौरसियामाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। “निवेदन परेपछि प्रहरीमा गएर समाधान खोज्नुपर्नेमा, प्रहरीलाई नै चुनौती दिँदै घरभित्रै पसेर कुट्नु सरासर गुण्डागर्दी हो,” एक प्रत्यक्षदर्शीले बताए।
पीडित पक्षले वडाध्यक्ष चौरसिया र उनीसँगै आएका समूहमाथि कडा कारबाहीका लागि दबाब दिएका छन्। वीरगन्ज महानगरभित्र जनप्रतिनिधिहरूबाटै श्रृंखलाबद्ध रूपमा भइरहेका यस्ता अराजक घटनाले नागरिकहरूमा त्रास बढाएको छ। अब प्रहरीले शक्तिको आडमा रहेका वडाध्यक्षलाई कानुनी कठघरामा ल्याउँछ कि उन्मुक्ति दिन्छ, त्यो भने चासोको विषय बनेको छ।














