२०८२ पुष १६ गते, बुधबार १४:५२

३.७ अर्ब वर्ष पुराना अष्ट्रेलियाली चट्टानले पृथ्वीका पहिलो महादेशको इतिहास पुनर्लेखन

पर्थ (अष्ट्रेलिया)

अष्ट्रेलियामा भेटिएका ३.७ अर्ब वर्ष पुराना चट्टानहरूले पृथ्वीका पहिलो महादेश कहिले र कसरी बने भन्ने विषयमा नयाँ वैज्ञानिक दृष्टिकोण प्रस्तुत गरेका छन्। वैज्ञानिकहरूको भनाइमा पृथ्वीका महादेशहरू अनुमान गरिएभन्दा ढिलो बनेका हुन् र तिनको प्रारम्भिक उत्पत्ति चन्द्रमासँग साझा रहेको देखिएको छ।

युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाको नेतृत्वमा गरिएको अन्तर्राष्ट्रिय अध्ययन अनुसार अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने मर्चिसन क्षेत्रमा भेटिएका ३.७ अर्ब वर्ष पुराना एनर्थोसाइट चट्टानहरूमा गरिएको रसायनिक विश्लेषणले पृथ्वीको प्रारम्भिक म्यान्टल र महादेश निर्माणको समयबारे महत्वपूर्ण प्रमाण दिएको छ। यी चट्टानहरू अष्ट्रेलियाली महादेशमा हालसम्म चिनिएका सबैभन्दा पुराना तथा पृथ्वीमै भेटिएका प्राचीनतम चट्टानहरूमध्ये पर्दछन्।

अनुसन्धानमा अष्ट्रेलियाका प्राचीन आग्नेय चट्टानहरूमा सुरक्षित रहेका प्लाजियोक्लेज फेल्डस्पार क्रिस्टलहरूको सूक्ष्मस्तरीय अध्ययन गरिएको थियो। ती क्रिस्टलहरूमा पृथ्वीको प्राचीन म्यान्टलको समस्थानिक ‘औँठाछाप’ सुरक्षित रहने वैज्ञानिकहरूले बताएका छन्।

अनुसन्धान टोलीकी प्रमुख शोधकर्ता तथा पीएचडी विद्यार्थी माटिल्डा बोयसका अनुसार अत्यन्त पुराना चट्टानहरूको अभावका कारण पृथ्वीको प्रारम्भिक भूपर्पटी (क्रस्ट) कहिले र कति गतिमा विकास भयो भन्ने विषय लामो समयदेखि विवादित रहँदै आएको छ।
“हामीले अत्याधुनिक विश्लेषणात्मक विधि प्रयोग गरेर फेल्डस्पार क्रिस्टलका ताजा भागहरू अलग गरी अध्ययन गर्यौँ,” उनले भनिन्।

अध्ययनको नतिजाले पृथ्वीको इतिहासमा महादेशहरूको वृद्धि करिब ३.५ अर्ब वर्षअघि मात्र सुरु भएको देखाउँछ, जुन पृथ्वी बनेको करिब १ अर्ब वर्षपछि पर्छ।

यस अध्ययनमा नासाको अपोलो कार्यक्रमअन्तर्गत चन्द्रमाबाट ल्याइएका एनर्थोसाइट चट्टानहरूसँग पनि तुलना गरिएको थियो।
“एनर्थोसाइट चट्टान पृथ्वीमा दुर्लभ भए पनि चन्द्रमामा अत्यन्तै सामान्य छन्,” बोयसले बताइन्।
उनका अनुसार तुलनात्मक अध्ययनले करिब ४.५ अर्ब वर्षअघि पृथ्वी र चन्द्रमाको प्रारम्भिक संरचना एउटै रहेको पुष्टि गरेको छ।

वैज्ञानिकहरूका अनुसार यसले प्रारम्भिक पृथ्वीसँग अर्को एउटा ग्रह ठोक्किएको र त्यसबाट उत्पन्न उच्च ऊर्जायुक्त टक्करको परिणामस्वरूप चन्द्रमा बनेको भन्ने प्रचलित सिद्धान्तलाई थप बल प्रदान गर्छ।

उक्त अनुसन्धान युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाको स्कूल अफ अर्थ एण्ड ओसन्स, युनिभर्सिटी अफ ब्रिस्टल, जियोलोजिकल सर्भे अफ वेस्टर्न अष्ट्रेलिया तथा कर्टिन युनिभर्सिटीका वैज्ञानिकहरूको सहकार्यमा सम्पन्न भएको हो।

यो अध्ययनको नतिजा विश्वप्रसिद्ध वैज्ञानिक जर्नल Nature Communications मा प्रकाशित भएको छ।

पोडकास्ट सुन्नुहोस