२०८२ पुष १७ गते, बिहीबार १२:४५

झुटो बयानले डुबायो, प्रमाणले थुनायो

काठमाडौं –

पोखराको लिचीबारी जग्गा प्रकरण र कर्मचारी थमौतीका नाममा घुस लिएको अभियोगमा पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार गुप्तालाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको हो।

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीलाई नै थुनामा पठाउने विशेष अदालतको यो आदेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

इजलासमै झुटो बोलेपछि फसे गुप्ता

अदालतमा बयानका क्रममा गुप्ताले आफू निर्दोष रहेको दाबी गर्दै अर्की पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बाहेक मुद्दामा मुछिएका अन्य कसैलाई पनि नचिनेको बताएका थिए। उनले अख्तियारले पेस गरेको अडियो रेकर्ड प्रविधिको दुरुपयोग गरी बनाइएको भन्दै अस्वीकार गरेका थिए।

तर, अदालतले भने गुप्ताको दाबीभन्दा प्रमाणहरू बलियो देखिएको ठहर गरेको छ। मिसिलमा संलग्न प्रमाणहरूका अनुसार गुप्ता, रञ्जिता श्रेष्ठ र सुजन तामाङबीच पटक-पटक फोन संवाद भएको देखिएको छ। उक्त संवादको फरेन्सिक प्रतिवेदनले समेत उनीहरूबीचको सम्बन्ध पुष्टि गरेको अदालतको आदेशमा उल्लेख छ।

७८ लाखको बिगो दाबी

पूर्वमन्त्री गुप्तामाथि कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई सोही पदमा थमौती गरिदिने भन्दै ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्षमा खमबहादुर पुनको नियुक्तिका लागि २५ लाख गरी कुल ७८ लाख रुपैयाँ घुस लिएको आरोप छ।

रिसोर्टको बिलदेखि पैसा गनेको फोटोसम्म प्रमाण

अदालतले मुद्दाको विवेचना गर्दा मन्त्रीहरू पोखरा बस्दाको विवरणलाई पनि मुख्य आधार बनाएको छ। जग्गा र कर्मचारीको ‘डिल’ गर्न पोखरा पुगेका बेला गुप्ता र श्रेष्ठ बरपिपल रिसोर्टमा बसेका थिए। मन्त्री गुप्ता बसेको होटलको ७९ हजार रुपैयाँ बिल मन्त्रालयले तिरेको थियो भने रञ्जिता श्रेष्ठको नाममा रहेको ५९ हजार रुपैयाँ उधारो देखिएको छ।

विशेष अदालतले मालपोत अधिकृतको सरकारी निवासमा रकम गनेर गाडीमा राख्दै गर्दा खिचिएको फोटोलाई समेत महत्वपूर्ण प्रमाणका रूपमा लिएको छ। तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राख्नुपर्ने पर्याप्त र मनासिब कारण देखिएकाले विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) बमोजिम उनलाई थुनामा पठाइएको हो।

यस प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र घुस दिने सुजन लामामाथि पनि बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।

पोडकास्ट सुन्नुहोस