२०८२ पुष १७ गते, बिहीबार १४:३९

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु

वीरगन्ज-

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीको गोली लागी मृत्यु हुनेमा कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षिय विजय  साह रहेका छन् । स्थानीयकाअनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र प्रहरी थिए । एक व्यक्तिलाई गोली लागेको थियो । घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फायरिङ भएको बताउनुभएको छ । जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाई छ । यता स्थानीयले भने सशस्त्रको ज्यादती भन्दै विहानैबाट लौकही क्षेत्रमा प्रर्दशन चर्काएका छन् । उनीहरुले सशस्त्र प्रहरी उपर सेटिङको आरोप लगाउँदै रकम नपाएको निहुँमा गरिखाने सामान्य व्यक्तिको गोली हानी हत्या गरेको आरोप लगाएका छन् ।

स्थानीयले मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी प्रर्दशन गरेका छन् । सो क्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् । प्रहरीले भीड तितरवितर पार्न केहि राउण्ड हवाई फायर समेत गर्नु परेको छ । गोली हान्ने व्यक्तिलाई कार्वाहीको माग गर्दै स्थानीयले प्रर्दशन चर्काएपछि सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासनले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको छ ।

पोडकास्ट सुन्नुहोस