पर्सा –
तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। केही वर्षयता राजनीतिबाट टाढा रहेका शाक्यलाई आज वीरगन्जमा आयोजित एक कार्यक्रमका बीच रास्वपा पर्साका सभापति हरी पन्तले पार्टीमा स्वागत गरे।
पार्टी प्रवेशपछि बोल्दै नेता शाक्यले मुलुकको विद्यमान राजनीतिमा देखिएको विकृति र विसङ्गतिका कारण आफू सक्रिय राजनीतिबाट बाहिरिएको स्पष्ट पारे। उनले हालैको ‘जेन्जी विद्रोह’ (Gen-Z Rebellion) ले युवा पुस्तामा जगाएको राजनीतिक चेतना र आशाका कारण आफू पुनः सक्रिय राजनीतिमा फर्किएको बताए। उनले भने, “मुलुकको समग्र राजनीति बिग्रिएको अवस्थामा रास्वपाले नयाँ आशा जगाएको छ, त्यसैले यसै अभियानमार्फत जनताको सेवा गर्ने निर्णय गरेको हुँ।”
सोही अवसरमा शाक्यले आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट रास्वपाको उम्मेदवार बन्ने घोषणा समेत गरे। उनले आफू यसअघि माओवादीको केन्द्रीय तहमा रहेर काम गरिसकेकाले आफ्नो अनुभव र रास्वपाको नयाँ जोसले पर्सामा परिवर्तन ल्याउने दाबी गरे।
रास्वपा पर्साका सभापति हरी पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य नन्दन यादव र क्षेत्रीय सभापति जितेन्द्र मिश्रले शाक्यको प्रवेशले जिल्लामा पार्टीको साख बढ्ने विश्वास व्यक्त गरे। कार्यक्रमको सहजीकरण सुदिस प्रजापतिले गरेका थिए।














