काठमाडौं –
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरेको छ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको महाधिवेशन कार्यतालिका बहुमतले अनुमोदन भएको पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए। पूर्व उपसभापति विमलेन्द्र निधिले पनि नयाँ कार्यतालिका पारित भएको पुष्टि गरेका छन्।
महाधिवेशनअघि विभिन्न तहका अधिवेशनको मिति तय
बैठकबाट पारित कार्यतालिकाअनुसार पार्टीको संगठन सुदृढीकरणका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म अधिवेशन क्रमशः सम्पन्न गरिनेछ।
कार्यतालिका यस प्रकार छः
-
गाउँ/नगर वडा अधिवेशन : २०८२ चैत २१
-
गाउँ/नगरपालिका अधिवेशन : २०८२ चैत २५
-
प्रदेश सभा क्षेत्रीय अधिवेशन : २०८२ चैत २८
-
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन : २०८३ वैशाख २
-
दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन : २०८३ वैशाख ५
-
प्रदेश अधिवेशन : २०८३ वैशाख १०, ११ र १२
-
केन्द्रीय महाधिवेशन : २०८३ वैशाख २८, २९, ३० र ३१ (काठमाडौं)
नेपाली जनसम्पर्क समिति अधिवेशनको पनि कार्यतालिका सार्वजनिक
पार्टीको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति को अधिवेशनसम्बन्धी कार्यतालिका पनि तय गरिएको छ।
जसअनुसार—
-
क्रियाशील सदस्यता नयाँ तथा नवीकरण नामावली केन्द्रमा पठाउने अन्तिम मिति २०८२ माघ ७,
-
केन्द्रबाट नामावली स्वीकृत गर्ने मिति २०८२ माघ १५,
-
जनसम्पर्क समिति अधिवेशन २०८२ माघ २९ गते हुनेछ।
महामन्त्रीद्वयको असहमति कायमै
यद्यपि, उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन्। उनीहरू यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा अडिग छन्। महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हलसमेत बुक गरिसकेका छन्।
महामन्त्रीद्वयले हल बुक गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस बैठक बसेको हो। बैठकअघि कार्यवाहक सभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए। सोही छलफलका आधारमा कार्यतालिका बैठकमा प्रस्तुत भई पारित भएको जनाइएको छ।
पदाधिकारीको कार्यकाल थप
बैठकले विशेष परिस्थितिलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको विधान २०७७ (संशोधन सहित) को धारा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल २०८३ जेठ मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ।














