२०८२ पुष २३ गते, बुधबार ०५:३०

वीरगन्जमा अर्को आदेश नआएसम्म निषेधाज्ञा जारी

वीरगन्ज –

पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्जको केही क्षेत्रमा अर्को आदेश नआएसम्म निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालले सोमबार एक विज्ञप्ति मार्फत दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानिय प्रशासन ऐन २०२८ को दफा ३(क) बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्णय अनुसार, वीरगन्जको पूर्वमा नयाँ बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक, र दक्षिणमा शंकराचार्य गेट भित्रका क्षेत्रहरूमा अर्को आदेश नआएसम्म भेला हुने, जुलुस, सभा तथा कुनै पनि प्रकारको प्रदर्शनमा रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी दहालका अनुसार, विहानदेखि वीरगन्ज बजार क्षेत्रमा दुई समुदायबीच भएको प्रदर्शनले जनधनको क्षति हुन सक्ने जोखिम बढाएकोले शान्ति सुरक्षालाई कायम राख्न निषेधाज्ञा आवश्यक भएको हो।

स्थानीय प्रशासनको आदेश उल्लंघन गरी जुलुस वा प्रदर्शन गरी शान्ति सुरक्षामा खलल पु¥याउने जो कोहीलाई कडा कानुनी कारबाही गरिने विज्ञप्तिमा चेतावनी दिइएको छ।

आज बिहानदेखि विभिन्न माग राख्दै हिन्दू र मुस्लिम समुदायका युवाहरू प्रदर्शनमा उत्रिएका कारण वीरगन्जमा सुरक्षा चुनौती बढेको छ। कतिपय स्थानमा हिन्दू वा मुस्लिम समुदायको अपमान भएको गुनासो आएका कारण दुवै समूहले नगर क्षेत्रमै पैदल प्रदर्शन गर्दै बाजार बन्द गर्दै हिंड्दा प्रशासनलाई सुरक्षा चुनौती थपिएको छ।

पोडकास्ट सुन्नुहोस