२०८२ पुष २२ गते, मंगलवार २३:४८

सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गरियोस् समाचार संकलन, प्रकाशन र प्रसारणमा अवरोध नगर्न महासंघको अपिल

वीरगन्ज-
विभिन्न धार्मिक समुदायले वीरगन्जलगायतका स्थानमा गरेको प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहार भएकोप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतो (चैहान) ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आपत्ति जनाएका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार सोमबार वीरगन्जको घण्टाघर चोकमा प्रदर्शनको दृश्य खिचिरहेका भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले मोबाइल फोन खोसी आक्रमण गरेका थिए। समाचार संकलनकै क्रममा पत्रकारमाथि भएको यस्तो घटना प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथिको ठाडो आक्रमण भएको महासंघको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ।

महासंघ पर्सा शाखाले पत्रकारमाथि भएको आक्रमणको घोर निन्दा गर्दै दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, स्वतन्त्र प्रेसको संरक्षण र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सरकार तथा सुरक्षा निकाय गम्भीर बन्नुपर्ने महासंघको आग्रह छ।

विज्ञप्तिमा धार्मिक समुदायहरूले आफ्नो प्रदर्शनका क्रममा समाचार सामग्रीको संकलन, प्रकाशन र प्रसारणमा अवरोध सिर्जना नगर्न तथा सञ्चारकर्मीले पनि आवश्यक संयमता र सावधानी अपनाउनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) ले विभिन्न जात, जाति, धर्म, सम्प्रदाय, भाषा र संस्कृतिबीच सामाजिक सद्भाव कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको महासंघले स्मरण गराएको छ।

महासंघले केही सञ्चारमाध्यमबाट आचारसंहिता विपरीत सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण भएको गुनासोलाई गम्भीर रूपमा लिँदै त्यसले सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ। त्यसप्रति सबै पक्षलाई जिम्मेवार र संयमित हुन महासंघले आग्रह गरेको छ।

पत्रकार आचारसंहिता विपरीतका सामग्री प्रकाशन तथा प्रसारण गर्ने अभ्यासलाई निरुत्साहित गर्नुपर्ने महासंघको धारणा विज्ञप्तिमा उल्लेख छ। साथै, आफ्नो असन्तुष्टि प्रकट गर्दा संविधानप्रदत्त अधिकारको प्रयोग गर्ने क्रममा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर नपुग्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सुरक्षित र भयमुक्त समाचार संकलनको वातावरण सुनिश्चित गर्न सबै सरोकारवालासँग महासंघले अपिल गरेको छ।

पोडकास्ट सुन्नुहोस